एजेन्सी । रोयल च्यालेन्जर्स बैंगलोर इन्डियन प्रमियर लिग(आईपीएल) क्रिकेटको क्वालिफायरमा प्रवेश गरेको छ । बुधबार राति भएको इलिमिनेटरको खेलमा लखनउ सुपर जायन्ट्सलाई १५ रनले पराजित गर्दै बैंगलोर फाइनल नजिक पुगेको हो ।
अब बैंगलोरले फाइनल प्रवेशको लागि दोस्रो क्वालिफायरमा राजस्थान रोयल्सको सामना गर्नेछ । राजस्थान पहिलो क्वालिफायरमा गुजरात टाइटान्ससँग पराजित भएको थियो । गुजरात भने फाइनलमा पुगिसकेको छ । यता पराजित लखनउ भने प्रतियोगिताबाट बाहिरिएको छ ।
जीतको लागि २ सय ८ रनको विशाल लक्ष्य पछ्याएको लखनउले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ९३ रन मात्र बनाउन सक्यो । राजस्थानको लागि केएल राहुलले कप्तानी इनिङ्स खेल्दै अर्धसतक बनाएपनि जीतको लागि पर्याप्त रहेन । उनले ५८ बलमा ५ छक्का र ३ चौकाको सहयोगमा ७९ रन बनाए । दीपक होडाले २६ बलमा ४ छक्का र १ चौका प्रहार गर्दै ४५ रन बनाउँदा मानन भोह्राले १९ र दुश्मान्था चामेराले ११ रनको योगदान गरे ।
बैंगलोरको लागि जोस हजेलवुडले ४ ओभरमा ४३ रन दिएर ३ विकेट लिए । यस्तै मोहम्मद सिराज, वानिन्डु हासारांगा र हर्सल पटेलको नाममा एक/एक विकेट रह्यो ।

यसअघि इडेन गार्डेनमा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बैंगलोरले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २ सय ७ रन बनाएको थियो । बैंगलोरको लागि रजत पातिडरले सतक प्रहार गरे । उनी ५४ बलमा १२ चौका र ७ छक्का प्रहार गर्दै १ सय १२ रनमा अवजित रहे । दिनेश कार्तिकले २३ बलमा ५ चौका र १ छक्काको मद्दतमा ३७ रन बनाउँदा विराट कोहलीले २५ र महिपाल लोम्रोरले १४ रनको योगदान गरे ।
लखनउको लागि मोहसिस खान, कुर्नाल पाण्ड्य, अभेष खान र रवि विश्नोइले एक/एक विकेट लिए । दोस्रो क्वालिफायर शुक्रबार हुनेछ ।
