सबै प्रकारका अपराध नियन्त्रणमा सुरक्षा निकायलाई सक्षम बनाइने

काठमाडौं । सरकारले सबै प्रवृत्तिका अपराध नियन्त्रणमा सुरक्षा निकायलाई सक्षम बनाउने जनाएको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरिएको आगामी वर्षको नीति तथा कार्यक्रममा अपराधको बदलिँदो स्वरुपबाट सिर्जित सुरक्षा चुनौतीको सामना गर्दै आतङ्कवाद तथा सङ्गठित अपराध, वित्तीय अपराध, मिटरब्याजी, साइबर अपराध, लागुऔषधको अवैध ओसारपसार र कारोबारलगायत सबै प्रकारका अपराध नियन्त्रण्मा सुरक्षा निकायलाई सक्षम बनाइने उल्लेख छ ।

यस्तै अन्य मुलुकसँग सुरक्षा जानकारी आदानप्रदान गर्ने संयन्त्रको उपयोग गरी अन्तरदेशीय तथा अन्तर्राष्ट्रिय अपराध नियन्त्रण गर्ने योजना पनि सरकारले लिएको छ ।

सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र सामाजिक मूल्यमान्यता खलल पार्ने क्रियाकलापको सूक्ष्म निगरानी गरी सबै प्रकारका अपराध र त्यसमा हुने लगानीलाई निरुत्साहित गरिने प्रस्तुत नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

सरकारले गृह मन्त्रालयले संसद्मा पेश गरेको विचाराधीन नागरिकता विधेयकलाई सहमतिका आधारमा छिट्टै टुङ्गोमा पुर्याउन पहल गर्ने तथा राष्ट्रिय परिचयपत्र वितरणलाई प्रभावकारी बनाउने नीति लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *