धरमरमा सत्ता गठबन्धन

काठमाडौं । स्थानीय तह निर्वाचनको पुरै परिणाम नआउँदै सत्ता गठबन्धन धर्मराएको छ। सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी (नेकपा एस) र जसपाका नेताहरू चुनावी परिणामलाई लिएर आरोपप्रत्यारोपमा उत्रिन थालेका छन्।

अहिलेसम्म घोषित परिणामअनुसार अग्रस्थानमा रहेको कांग्रेसले चुनावमा अन्य सहयात्री दललाई पर्याप्त सहयोग नगरेको गुनासोसँगै आरोपप्रत्यारोप सुरु भएको हो।

कांग्रेसका नेताले सहयात्री दलसँग पर्याप्त जनमत नभएको र नेता–कार्यकर्तासमेत नभएको तथा कतिपय कांग्रेसका कार्यकर्ताले कांग्रेसबाहेक कम्युनिस्ट पार्टीका उम्मेदवारलाई मतदान गर्न अप्ठेरो परेका कारण उनीहरूले अपेक्षित नतिजा हासिल गर्न नसकेको बताएका छन्। नेकपा माओवादी र नेकपा एसले स्थानीय चुनावमा कांग्रेसबाट पर्याप्त सहयोग नभएको गुनासो गरिरहेका बेला कांग्रेसका नेताहरूबाटै यस्तो धारणा आएको हो।

नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले बिहीबार नेकपा एस र माओवादीले चुनावी परिणामलाई लिएर गुनासो गर्नुपर्ने ठाउँ नभएको बताएका थिए। त्यसको एक दिनपछि शुक्रबार संघीय संसद् भवन बानेश्वरमा कांग्रेस महामन्त्री गगन थापाले कतिपय कांगे्रस कार्यकर्ताले आफ्नो पार्टीबाहेक कम्युनिस्ट पार्टीका उम्मेदवारलाई भोट नहालेका कारण उनीहरूको थोरै मत आएको बताएका छन्। ‘गठबन्धनमा आबद्ध अन्य दलको २० प्रतिशत मत भएको ठाउँमा कांग्रेसले ८० प्रतिशत मत दिनुपर्ने अवस्थामा केही मत चुहिएर कम पर्न गएको हो। कांग्रेसको ८० प्रतिशत मत भएको ठाउँमा अन्य पार्टीको २० प्रतिशत मत थपिँदा कांग्रेसको जित सहज भएको हो’, महामन्त्री थापाले संसद् भवन परिसरमा पत्रकारसँग भने।

स्थानीय तहको निर्वाचनको पुरै परिणाम सार्वजनिक नहुँदै जनता समाजवादी पार्टी ९जसपा० का नेताहरूले गठबन्धनमा रहेका अन्य दलबाट आफूलाई धोका भएको निष्कर्ष निकालिसकेका छन्।

विराटनगर महानगरपालिका र जनकपुर उपमहानगरमा गठबन्धनमा रहेको दलहरूबाट आफ्ना उम्मेदवारले धोका पाएको जसपाका नेताहरूको बुझाइ छ। २०७४ सालको स्थानीय निर्वाचनमा एमालेले तराईमा निकै कम स्थानमा जित हात पारेको भए पनि अहिले उल्लेख्य प्रगति गरेको छ। त्यसैगरी कांग्रेसले पनि तराईमा आफ्नो उपस्थिति बलियो बनाएको छ।

सत्ता गठबन्धनको अर्को दल नेकपा एसको बुझाइए पनि कांग्रेस–माओवादी मिलेर सिट बाँडफाँट र मतदानको प्रक्रियामै धोका दिएको छ। उसले अहिलेसम्म १४ वटा पालिकाको प्रमुखरअध्यक्ष, १७ पालिकाको उपप्रमुखरउपाध्यक्ष जितेको छ। नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल दुवैले आफ्ना नेता–कार्यकर्तालाई कांग्रेस र माओवादीले मतदाता मात्रै बनाएको तर भनेजस्तो सहयोग नगरेको बताइसकेका छन्।

उनीहरूले निर्वाचनको पुरै परिणाम आएपछि यसको समीक्षा हुने बताएका छन्। निर्वाचनको चार दिनअघि नेकपा एसका अध्यक्ष नेपालले आफ्ना नेता–कार्यकर्तालाई गठबन्धनप्रति इमानदार भएर लाग्न निर्देशन दिएका थिए। चुनावपछि सो दलका शीर्ष नेताले आफ्ना कार्यकर्ताले गठबन्धनमा रहेका अन्य दलका उम्मेदवारलाई इमानदारपूर्वक मतदान गरेको तर कांग्रेस–माओवादीले सहयोग नगरेको बताएकाले पनि गठबन्धनमा खटपट सुरु भएको बुझिन्छ। नागरिक दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *