गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल : आजबाट सञ्चालनमा, हवाई रूटको अन्योल कायमै

काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल आज देखि औपचारिक रूपमा सञ्चालन हुँदै छ । प्रधानमन्त्री शेरबहादुर देउवाबाट सोमवार बिहान उद्घाटन हुने उक्त विमानस्थलमा कुवेतको वायुसेवा कम्पनी जजिरा एयरवेजको जहाजले पहिलो व्यावसायिक उडान गर्नेछ ।

नेपालमा दोस्रो अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउन लागे पनि विमान प्रवेश बिन्दु (हवाई रूट) को अन्योल भने कायमै छ । नेपालले अन्तरराष्ट्रियस्तरका थप विमानस्थल बनाउन थालेयता पश्चिमतर्फको हवाई रूट उपलब्ध गराउन भारतसँग आग्रह गर्दै आएको छ ।

नेपाल र भारतका सम्बद्ध अधिकारीबीच झन्डै ४ वर्षअघि जहाज प्रवेश विन्दुको विषयलाई सम्बोधन गर्ने सहमति भएको थियो । सन् २०१८ जुन दोस्रो साता नेपाल नागरिक उड्डयन प्राधिकरण र एयरपोर्ट अथोरिटी अफ इन्डिया (एएआई)का प्राविधिकले उक्त सहमतिमा हस्ताक्षर गरेका थिए । तर, त्यो सहमति कार्यान्वयनमा भारतले आनाकानी गरिरहेको छ, जसले गर्दा गौतम बुद्ध विमानस्थलमा आउने जहाजले पनि सिमरा रूट नै प्रयोग गर्नुपर्नेछ ।

नेपालले पश्चिमको नेपालगञ्ज, महेन्द्रनगर र भैरहवा हुँदै नेपाल प्रवेश गर्न मिल्ने रूट भारतसँग मागिरहेको छ । सरकारका पूर्वसचिव सुशील घिमिरे त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल आउने जहाज पूर्वबाट प्रवेश गर्न समस्या नभए पनि पश्चिमबाट प्रवेश गर्न नपाउने बताउँछन् । भारतले पश्चिमतर्फको रूट नदिँदा कतारको दोहा, दुबई, साउदी, कुवेतलगायत पश्चिमतिरबाट आउने जहाज वीरगञ्ज (सिमरा) बाट प्रवेश गरेर भैरहवा जानुपर्ने भन्दै घिमिरेले थपे, ‘यसले गर्दा समय र इन्धन बढी खर्च हुन्छ भने सिमरा विन्दुमा हवाई चाप बढ्छ ।’

भारतले नयाँ प्रवेश रूटमा सहमति नदिँदा गौतम बुद्धमा अवतरण गर्ने विमानहरू सिमरा रूट भएर आउनुपर्छ । सिमरा पुगेर फर्किंदा थप १० मिनेट खर्च हुन्छ । यसले जहाजको उडान लागत बढाउँछ एकातिर भने सिमरा प्रवेश विन्दुमा हवाई ट्राफिक बढी हुन्छ आर्थिक अभियान दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *