गौतमबुद्ध र पोखरा विमानस्थल सञ्चालनको तयारी

काठमाडौं। हवाई पूर्वाधारका मुख्य २ ठूला आयोजनाहरू गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल ६ महीनादेखि १ वर्षभित्र सञ्चालन गर्ने तयारी गरिएको छ ।

त्रिभूवन अन्तरराष्ट्रिय विमानस्थलको विकल्पको रूपमा अघि बढाइएको गौतमबुद्ध ६ महीनाभित्र र पोखरा क्षेत्रीय विमानस्थल १ वर्षभित्र सञ्चालनमा ल्याउने नेपाल नागरिक उड्डयन प्राधिकरणले तयारी गरेको हो ।

गौतमबुद्ध विमानस्थलका सबै प्रक्रिया पूरा गरेर ६ महीनाभित्र सञ्चालनमा ल्याउने प्रक्रियामा रहेको प्राधिकरणका प्रवक्ता राजकुमार क्षत्रीले जानकारी दिए । अहिले विमानस्थलको भौतिक प्रगति ९७ दशमलव ३३ प्रतिशत पुगेसँगै क्यालिब्रेशन फ्लाइटको तयारी गरिएको छ ।

क्यालिब्रेशन फ्लाइट (उडान) रनवे सही छ, कि छैन, लाइटिङ प्रणाली, हवाई सञ्चार अर्थात् टावर कम्युनिकेशन, ल्यान्डिङलगायतमा कुनै समस्या छ कि छैन र राडरहरूको पोइन्ट स्पष्ट देखिन्छ कि देखिँदैन भन्नेलगायत विषयहरू पत्ता लगाउन गरिन्छ ।

क्यालिब्रेशन उडान गर्ने कम्पनीले प्रतिवेदन पनि दिनुपर्छ । यस्तो उडानमा कुनै समस्या तथा कमजोरी भएमा सुधार गरेपछि मात्रै परीक्षण उडान हुन्छ । काठमाडौंको त्रिभूवन अन्तरराष्ट्रिय विमानस्थलका साथसाथै अन्य विमानस्थलहरूमा पनि २र३ वर्षको अन्तरालमा केलिब्रेशन फ्लाइट गर्दै आएको उनले बताए । गौतमबुद्ध विमानस्थलमा क्यालिब्रेशन फ्लाइटका लागि थाइल्यान्डको ‘एरो थाइ कम्पनी’सँग सहमति भए पनि कोरोना भाइरस (कोभिड–१९)का कारण केही ढिलाइ भएको क्षत्रीले बताए ।

एरो थाइ कम्पनी आउन इच्छुक नदेखिएपछि भारतीय एयरलाइन्स कम्पनीसँग क्यालिब्रेशन फ्लाइटका लागि सम्झौता गर्न फाइल अघि बढाइएको छ । उनले कम्पनीको नाम भने खुलाउन चाहेनन् । ‘प्राधिकरण र एरो थाइसँग एक किसिमको आपसी सहमति भए पनि कोभिडले अनिच्छुक देखिएको छ, तर कम्पनीले कुनै दाबी विरोध भने गर्न पाउँदैन,’ उनले भने, ‘अब विकल्पमा भारतीय एयरलाइन्स कम्पनीसँग सहमति गर्न फाइल अघि बढेको छ ।’

विमानस्थलमा क्यालिब्रेशन फ्लाइट दशैंअघि गर्ने प्रक्रिया शुरू गरेको उनको भनाइ छ । आर्थिक अभियान दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *