नयाँ–पुराना दुवै पुस्तामा उत्साह

काठमाडौं । मध्यपुर नगरपालिका थिमीकी १ सय ३ वर्षीया गणेशमाया प्रजापतिले मत खसाल्न थालेको दशकौं भइसक्यो। बुधबार दिउँसो घरनजिकैको पाटीमा आराम गरिरहेकी प्रजापति शुक्रबारको मतदानका लागि पनि उत्तिकै उत्सुक भेटिइन्। १ सय १ वर्षको उमेरमा कोरोना पराजित गरेकी गणेशमायाले राम्रो काम गर्नेलाई जिताउन भोट हाल्ने सुनाइन्।

‘भोट हाल्न बाँचेजस्तो भयो,’ उनले मुस्कुराउँदै भनिन्, ‘बिहानै गएर भोट खसाल्नेछु।’ चुनावमा कसले जितेर के गर्‍यो भन्दा पनि आफ्नो जीवनमा धेरै परिवर्तन आएको उनले सुनाइन्। ‘विकास त भइरहेकै छ त,’ उनले भनिन्, ‘त्यसैले पनि भोट हाल्ने रहर बढेर आएको छ।’ उनीसँगै उभिएकी पनातिनी उमेरकी समिरा प्रजापति पहिलोपटक मत खसाल्दैछिन्। बुधबारै मतदाता परिचयपत्र हात पारेकी समिराले शिक्षा र स्वास्थ्यका लागि मत खसाल्ने सुनाइन्। ‘सरकारी विद्यालयहरू राम्रा हुनुपर्‍यो,’ कक्षा १२ को परीक्षा सकाएर बसेकी उनले भनिन्, ‘सरकारी अस्पतालमा पनि उपचार राम्रो पाउनुपर्‍यो।’ कुल मतदाता १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मध्ये समिराजस्तै वैशाख ३० मा हुने स्थानीय निर्वाचनमा ३६ लाख ५९ हजार २ सय ९९ नयाँ मतदाताले भाग लिनेछन्।

विगतमा निर्वाचनमा जित्नेले सोचेजस्तो काम नगरे पनि मतदानप्रति नयाँ र पुराना पुस्ता दुवैमा उत्साह देखिएको छ। निर्वाचन आयोगले मौन अवधि घोषणा गरेकाले राजधानीवरपरका काँठ क्षेत्र र सहरी भेगमा निर्वाचनका झाँकी नदेखिए पनि मतदातामा उत्साह र उमंगमा कुनै कमी देखिन्नथ्यो। गाउँका चौतारी होस् या सहरका गल्ली, चुनावी गफ गर्नेहरू जताततै भेटिन्छन्।

खेतमा गहुँ काट्दै गरेका किसान अनि धान रोप्दै गरेका रोपाहार, सबैलाई चुनावी चटारोले छोएको छ। मन परे पनि नपरे पनि जनप्रतिनिधिबाटै विकास आशा गर्नुपर्ने अवस्था रहेको समिराले सुनाइन्। ‘संविधान दिनेले मल दिन नसकेको देख्दा दुःख लाग्छ,’ धानको बिउ राख्दै गरेकी कागेश्वरी आलापोटकी निर्मला फुयाँलले भनिन्, ‘जित्नेले मल मात्र ल्याइदिए पनि किसानको भलो हुन्थ्यो।’

उनको जस्तै धारणा राख्छन् थिमीकै उत्तम प्रजापति पनि। मतदानप्रति उत्साह भए पनि सोचेजस्तो उम्मेदवार नपाउँदा दुःख लागेको उनी सुनाउँछन्। ‘हरेकपटक परिवर्तनको आशामा भोट हाल्न जान्छौं,’ उनले भने, ‘तर उम्मेदवारले चुनाव जितेपछि यो बुझ्दैनन्।’ अब चुनावमा जित्नेले जनताका भावना जितेर काम गरोस् भन्ने उनको चाहना छ।

राजनीतिक दल र नेताप्रति गुनासो भए पनि मतदानको अधिकार खेर नफाल्ने उनीहरू बताउँछन्। ‘कसैलाई मत नखसाले त झन् नराम्रोले जित्न सक्छ नि १’ नुवाकोट थानसिङबाट काठमाडौंको मूलपानी आएका केशवप्रसाद ढकाल भन्छन्, ‘त्यसैले धेरै नराम्रोलाई रोक्न पनि हामी मत खसाल्न जान्छौं।’ १८ वर्षको उमेरदेखि भोट हाल्दै आएका उनी ६० वर्षे उमेरमा पनि भोट हाल्न उत्तिकै इच्छुक छन्। नागरिक दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *