खानेतेल उत्पादन एक चौथाइमा झर्‍यो

वीरगञ्ज। लम्बिँदो रूस–युक्रेन तनावबीच इन्डोनेशियाले खानेतेलको कच्चा पदार्थ निर्यातमा प्रतिबन्ध लगाएपछि स्वदेशी तेल उद्योगको उत्पादन एक चौथाइमा झरेको छ । कच्चा पदार्थ आयातमा अवरोध आएपछि उत्पादन खुम्चिएको उद्योगीहरूले बताए ।

कच्चा पदार्थको आपूर्ति असहज भएपछि बारा–पर्साका तेल उद्योग अहिले क्षमताको २५ प्रतिशतमा चलिरहेको उद्योगी बताउँछन् । अर्धप्रशोधित तेलका मुख्य उत्पादक देशबाट आयात अवरुद्ध भएपछि उत्पादन करीब एक चौथाइमा झरिसकेको नारायणी आयलका सञ्चालक निखिल चाचानले बताए ।

‘यसअघि यहाँका उद्योगले क्षमताको ८० प्रतिशतसम्म उत्पादन गरिरहेका थिए । अहिले त्यो २५र३० प्रतिशतमा झरिसकेको छ,’ चाचानले भने । कच्चा पदार्थ आपूर्तिमा यस्तै समस्या रहिरहे उत्पादन अझ कम हुँदै जाने उद्यमीको भनाइ छ । नेपालका दुई दर्जन खानेतेल उद्योगमध्ये अधिकांश (१४ ओर्टा) यही कोरिडोरमा छन् । अन्य विराटनगर र भैरहवामा सञ्चालित छन् ।

स्वदेशी उत्पादकले युक्रेन र रूसबाट सूर्यमुखी र भटमासको अर्धप्रशोधित तेल आयात गर्छन् । तोरीको अधिकांश परिमाण पनि यी देशबाटै आउने गरेकोमा २ महीनादेखि जारी तनावले आपूर्ति अवरुद्ध भएको छ ।

पाम तेलको मुख्य निर्यातकर्ता इन्डोनेशियाले अप्रिल २८ देखि आन्तरिक बजार मूल्य नियन्त्रणका लागि भन्दै निर्यात रोकेको छ । त्यहाँबाट अर्धप्रशोधित तेल ल्याएर प्रशोधन गरी भारत निकासी गर्दै आएका उद्योगीलाई अहिले उद्योग चलाउनै कठिन भएको अर्का उद्योगी ओसीबी पूmडका सञ्चालक सुरेश रुंगटाले बताए ।

अर्धप्रशोधित तेल नपाएपछि अस्ट्रेलिया र भारतबाट भटमास मगाएर यहीँ पेल्न थालिएको रुंगटाले जानकारी दिए । गोदाममा राखिएको भटमासले १ महीना पनि धान्न नसक्ने रुंगटाले बताए । उनको उद्योगले अहिले दैनिक ८० मेट्रिक टन भटमास खपत गरिरहेको छ । अर्धप्रशोधित तेल आयात नभएपछि भटमासको दाना पेल्नु परेको उनले बताए ।

कच्चा पदार्थ आपूर्ति सहज नभए आन्तरिक बजारमा पनि अभाव हुनसक्ने उद्योगी बताउँछन् । कोरोना महामारीका कारण उत्पादनमा कमी आएपछि १ वर्षयता तेलको भाउ उकालो लागेको उद्यमीहरू बताउँछन् । १ वर्षअघिसम्म अन्तरराष्ट्रिय बजारमा प्रतिमेट्रिक टन १ हजार अमेरिकी डलर हाराहारी रहेको भटमासको अर्धप्रशोधित तेलको मूल्य अहिले २ हजार १ सय डलर पुगिसकेको उद्योगी चाचानले बताए । आर्थिक अभियान दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *