राधेराधेमा ‘वान डे थ्री डी आर्ट म्युजियम’ संचालनमा

भक्तपुर । आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले भक्तपुरको मध्यपुरथिमि राधेराधेमा ‘वान डे थ्री डी आर्ट म्युजियम’ सञ्चालनमा आएको छ । भक्तपुरको राधेराधेमा सञ्चालनमा आएको उक्त म्युजियमको शनिबार वरिष्ठ हास्य कलाकार मनोज गजुरेलले उद्घाटन गरे ,

एउटै कोठाबाट जल, जमिन, वन, वन्यजन्तुजस्ता विभिन्न प्रकारको रोमाञ्चक आर्ट हेरेर तस्वीर तथा भिडियो खिच्दै पारिवारिक मनोरञ्जन लिन सक्ने गरी भक्तपुर बालकोट निवासी सुन्दर बिष्टसहितको संयुक्त टोलीको लगानीमा म्युजियम सञ्चालनमा ल्याएका हुन् ।

आर्ट म्युजियमभित्र छिरेपछि एउटा नौलो र छुट्टै संसारको अनुभूति गर्न सकिन्छ । सञ्चालक बिष्ट भन्छन्, “विदेशमा धेरै प्रयोगमा आए पनि नेपालमा मैले भित्राएको थ्री डी आर्ट म्युजियममा मानिसलाई छुट्टै संसारमा गएको अनुभूति हुन्छ, यहाँ प्रवेश गरेपछि जलपक्षीदेखि वन्यजन्तुसम्म देख्न पाइन्छ । यहाँको कलाले मानिसको सबै तनावलाई मुक्त गरेर आनन्द दिन सक्छ, यो पारिवारिक संसारको एउटा मनोरञ्जनको थलो हो ।”

यो म्युजियममा तालमाथि तैरिएको भर्याङको आकृति, बाघ, हात्ती, घोडा, ऊँट, जलपरीसँगको सामीप्यतादेखि आकासमा उडेको अनुभूति दिने तस्विर लिन सकिन्छ । यस थ्री डी आर्टमा समुद्री जीवदेखि जङ्गली जनावरसँग, गौतमबुद्धदेखि सम्पदासम्मको सामीप्यता महसुस गर्न सक्ने एउटै स्थान एउटै परिवारको नातिदेखि हजुरबुबासम्मका पुस्ताले एकै पटक रमाउन सक्ने गरी बनाइएको कला संयोजनले फोटोका पारखीलाई धेरै नै मनोरञ्जन दिने बिष्ट बताउँछन् ।

ललितपुरको इमाडोल वचु हाइटमा सञ्चालनमा ल्याएको थ्री डी आर्ट म्युजियम, हेटौँडामा सञ्चालनमा ल्याएको ‘वान डे थ्री डी आर्ट म्युजियम’ को पहिलो शाखा, ललितपुरको कुमारीपाटीमा थ्री डी आर्ट रेस्टुरेन्ट सञ्चालनमा ल्याएको बिष्टको समूहले भक्तपुरमा पनि म्युजियम सञ्चालनमा ल्याएको छ ।

म्युजियममा रमाउन आएका जिल्ला खेलकुद विकास समिति भक्तपुरका निवर्तमान अध्यक्ष एवं चाँगुनारायण उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्रीभक्त कासिछ्वाले नेपालमा नौलो रहेको थ्री डी म्युजियम आर्टमा रमाउनुको छुट्टै मजा भएको बताए । उनले यहाँ पस्दा बाहिर दुनियाँ नै हराएको महसुस हुने बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *