पोखरालाई समृद्ध बनाउने यस्ता छन् थापाका योजना

थापाले २०४३ मंसिरदेखि २०४६ पुससम्म जेल जीवन बिताउनुभयो । तत्कालीन पञ्चायत राजकाज मुद्दामा पोखरा, दमौली र गोरखा गरी २९ महिना जेल जीवन बिताउनुभएको थियो ।

स्थानीय तह निर्वाचनमा पोखरा महानगरपालिको मेयर पदमा नेकपा एमालेले कृष्ण थापालाई उम्मेदवार बनाएको छ । २०५४ सालमा साविक पोखरा उपमहानगरपालिकाको प्रमुख भएर कार्य अनुभव बटुलेका र सफल भएका थापालाई स्थानीय तह निर्वाचन २०७९ मा एमालेले मेयरको उम्मेदवार बनाएको हो । २०७४ सालको प्रदेशको निर्वाचनमा कास्की २ (क) बाट थापा प्रदेश सांसदमा निर्वाचित हुनुभएको थियो ।

पार्टीले मेयरको उम्मेदवार बनाउने भएपछि सांसद पदबाट राजीनामा दिएर थापा मेयरको चुनावी मैदानमा उत्रिनुभएको छ । विगत चार दशकदेखि राजनीतिमा सक्रिय थापा जुझारु, निर्भिक, हक्की स्वभावका अनुभवी नेता हुनुहुन्छ । नागरिकतामा नाम कृष्णबहादुर थापा भएपनि पोखरेलीले उहाँलाई कृष्ण थापा र ‘मेन अफ एक्सन’ का रुपमा चिन्ने गरेका छन् ।

पोखरा महानगरपालिका वडा नम्बर १६ निवासी थापा ‘हाम्रो अभिभारा, स्वच्छ, सुन्दर पोखरा’ भन्ने मूल नीतिलाई कायम राख्दै सभ्य र सुसंस्कृत नागरिकहरुले बसोबास रहेको र आर्थिक रुपमा सवल पोखरा महानगर बनाउने लक्ष्यका साथ चुनावी प्रतिस्पर्धामा उत्रनुभएको छ ।

पिता खिमबहादुर थापा र आमा सुकमाया गुरुङ थापाको सन्तानको रुपमा २०१६ साल चैत १६ गते जन्मेका थापाले २०४१ साल भदौमा २९ गते तत्कालीन नेकपा मालेको सदस्यता प्राप्त गरेयता निरन्तर पार्टीको काम र जनताको सेवामा क्रियाशील हुनुहुन्छ । २०३५—३६ सालको विद्यार्थी आन्दोलनबाट प्रभावित भएर थापा राजनीतिमा लाग्नुभएको हो । थापाले २०५१ सालमा पोखरा उपत्यका नगर विकास समितिको अध्यक्ष, २०७१ सालमा राष्ट्रिय ताल समिति सदस्य, नेपाल नगरपालिका संघको केन्द्रीय सचिवालय सदस्य भएर २०५५—२०७३ सम्म काम गर्नुभएको थियो ।

नेपाली, अंग्रेजी, हिन्दी भाषा बोल्न सक्ने थापाले चिकित्साशास्त्र विज्ञान संस्थान सुर्खेतबाट सीएमए र पोखराको पृथ्वीनारायण क्याम्पसबाट बिएड उत्तीर्ण गर्नुभएको छ । थापाका श्रीमती डिकी छिरिङ थापा र छोरा प्रतीक थापा छन् । गीति लेखनमा समेत चासो राख्ने थापाको स्वीकृति एल्बम प्रकाशित भएको छ । थापाले बंगलादेश, भारत, सिंगापुर थाइल्यान्ड, मलेसिया, फिलिपिन्स, कम्बोडिया, भियतनाम, जापान, दक्षिण कोरिया, इरान, बराइन, कतार, चीन, अमेरिका, बेलायत, बेल्जिमय र जर्मनीको भ्रमण गर्नुुभएको छ । भौतिकवादमा विश्वास गर्ने थापाले नेपालको विशेषतामा आधारित वैज्ञानिक समाजवाद निर्माण गर्ने लक्ष्य राख्नु भएको छ । सादा जीवन उच्च विचारका थापाले कार्लमाक्र्स, अब्राहम लिंकन र मदन भण्डारीलाई आदर्श व्यक्तित्वको रुपमा लिने गर्नुभएको छ ।

राजनीति यात्रा
२०३७ सालमा अनेरास्ववियु पृथ्वीनारायण क्याम्पस कमिटीको सदस्य भएपछि उहाँको राजनीतिक यात्रा सुरु भएको हो । २०३८ सालमा पार्टीको एकताको पाँचौ राष्ट्रिय सम्मेलनको प्रतिनिधि भएका थापा २०३९ देखि एक वर्ष चिकित्सा शास्त्र अध्ययन संस्थान, सुर्खेतको स्ववियु सहसचिव हुनुभयो ।

२०४० मा अखिल नेपाल चिकित्सा सहायक संघको संस्थापक सचिव भएका थापा २०४१ सालमा पृथ्वीनारायण क्याम्पसको स्ववियु सदस्य निर्वाचित हुनुभयो । २०४१ सालमा अनेरास्ववियु कास्कीको छैठौं जिल्ला कमिटीको अधिवेशनबाट जिल्ला कमिटी अध्यक्ष चुनिएका थापाले २०४३ को जनपक्षीय चुनाव परिचालन कमिटी संयोजकको जिम्मेवारी सम्हाल्नु भएको थियो । थापाले २०४३ मंसिरदेखि २०४६ पुससम्म जेल जीवन बिताउनुभएको थियो । तत्कालीन पञ्चायत राजकाज मुद्दामा पोखरा, दमौली र गोरखा गरी २९ महिना जेल जीवन बिताउनु भएको थियो ।
२०४८ सालमा जनसांस्कृतिक मञ्च पोखराको संस्थापक नगर अध्यक्ष बनेका थापा २०४९ सालमा नेकपा एमाले जिल्ला कमिटी कास्कीको सचिवालय सदस्य बन्नुभयोे । २०५२ सालमा नेकपा एमालेको प्रथम नगर अधिवेशनबाट सचिव निर्वाचित हुनुभएका थापा त्यसको दुई वर्षपछि भएको चुनावमा तत्कालीन पोखरा उपमहानगरपालिकाको मेयर हुनु भयो ।

२०६५ सालमा नेकपा एमाले कास्कीको सचिव भएका थापा २०७० सालमा नवौं कास्की जिल्ला कमिटीको अधिवेशनबाट अध्यक्ष निर्वाचित हुनुभयो । २०७८ सालको मंसिरमा चितवनमा भएको नेकपा एमालेको दशौं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित थापा कास्की जिल्लाका सहइन्चार्ज समेत हुनुहुन्छ । थापा अहिले पोखरा महानगरको मेयर बन्ने दौडमा हुनुहुन्छ । पोखराको प्रमुख बनेको अनुभव र प्रत्यक्षतर्फ प्रदेश सभा सांसद जितेको अनुभव बटुलेका थापाले चुनाव जित्नेमा ढुक्क हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *