काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण नेपालले गत वर्षको जेठमा कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटर नयाँ राजनीतिक नक्सा जारी गरेपछिको पहिलो उच्चस्तरीय भ्रमण भएको छ ।
यसअघि न त भारतबाट कुनै उच्चस्तरीय भ्रमण भएको थियो न नेपालबाट नै । त्यसैले यो भ्रमणमा सीमासम्बन्धी छलफल र त्यसको समाधानको बाटो पहिल्याइने अपेक्षा राखिएको थियो ।
तर, प्रधानमन्त्री देउवा र उनका समकक्षी नरेन्द्रदास मोदीबीचको एकल र द्विपक्षीय दुवै वार्तामा यस विषयमा खासै छलफल भएन । प्रधानमन्त्रीको भारत भ्रमणअघि कूटनीतिज्ञहरूले यो विषयमा छलफल अघि बढाउन सुझाव पनि दिएका थिए । तर, प्रधानमन्त्री शेरबहादुर देउवाले यस विषयलाई खासै प्राथमिकता दिएको पाइएन ।
नयाँदिल्लीको हैदरावाद हाउसमा शनिबार द्विपक्षीय वार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले आफ्ना समकक्षी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई आफूले स्थापित संयन्त्रमार्फत सीमा समस्या समाधानका लागि आग्रह गरेको बताए । तर, भारतीय विदेश मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा उक्त विषय समावेश छैन । नेपाल समाचारपत्र दैनिकबाट
