काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबारदेखि आइतबारसम्म तीन दिने भारत भ्रमण सकेर आइतबार साँझ स्वदेश फर्केका छन् । भ्रमणका क्रममा भारतीय जनता पार्टीको मुख्यालय भ्रमण, भारतीय समकक्षी नरेन्द्र मोदीसँगको छलफल, संयुक्त पत्रकार सम्मेलन, जनकपुर–जयनगर रेल सेवाको उद्घाटन, सोलु करिडोरको संयुक्तरुपमा उद्घाटन, भारतीय उद्योगीहरुसँगको अन्तरक्रिया, वराणसीको भ्रमण यस्तै यस्तै काम भए । भ्रमण सकेर स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री डा. नारायण खड्काले भ्रमण सफल भएको बताए । तीन दिनमा यतिधेरै काम भए ।
तर चर्चा र आलोचना भने प्रधानमन्त्रीको एउटा कामले पाएको छ । त्यो हो भारतीय जनता पार्टीको मुख्यालय भ्रमण । किनकी प्रधानमन्त्री शुक्रबार इन्दिरागान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएपछि भ्रमणको सुरु नै विजेपीको मुख्यालयबाट सुरु भएको थियो । देउवा भारत भ्रमणमा जाँदा कांग्रेस सभापतिको रुपमा नगई नेपालका प्रधानमन्त्रीको रुपमा भारतको औपचारिक भ्रमणमा गएका थिए । परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको भ्रमण तालिकामा पनि कांग्रेस सभापति भारत भ्रमणमा जाने भनिएको थिएन, थियो त प्रधानमन्त्रीको भ्रमण ।
सामान्यतः औपचारिक भ्रमणमा जाँदा नेपाली प्रधानमन्त्रीले कुनै दलको मुख्यालयको भ्रमण गर्ने चलन विगतमा थिएन । बरु दलका शीर्ष नेताले नेपाली प्रधानमन्त्रीसँग शिष्टाचार भेट गर्ने चलन थियो । अन्य दलका शीर्ष नेताहरु भेट्ने कार्यसूची पनि थिएन प्रधानमन्त्रीको । तर विजेपीको मुख्यालयमा चाहिँ किन गए त प्रधानमन्त्री भनेर धेरै आलोचना भएको छ ।
भर्खरै चिनियाँ विदेशमन्त्री वाङ यी ले पनि नेपाल भ्रमण गरे । उनले त सत्तारुढ र विपक्षी दलका शीर्ष नेतासँग भेट गरे । तर उनी त कुनै दलको मुख्यालय गएनन् । अनि विदेशमन्त्री यी ले विपक्षी दल नेकपा एमालेका शीर्ष नेताहरुसँग पनि भेट गरेका थिए ।
हाम्रा प्रधानमन्त्रीले त कांग्रेस आइ लगायतका अन्य कुनै दलका नेतासँग पनि भेट गरेनन् । यसरी सत्तारुढ दल विशेषका नेतालाई मात्र भेट गरेको भन्दै सर्वत्र आलोचना भएपछि परराष्ट्रमन्त्री खड्काले प्रधानमन्त्री देउवा कांग्रेस सभापतिको हैसियतमा मात्रै सत्तारुढ भारतीय जनता पार्टी (विजेपी)को मुख्यालयमा गएको स्पष्टीकरण दिएका छन् । प्रधानमन्त्री देउवाले दिल्लीमा दुई पार्टीबीचको सम्बन्ध बलियो बनाउन मुख्यालयमै गएर भेट गरेको र त्यसलाई कूटनीतिक मर्यादा विपरित भन्न नमिल्ने उनले बताए । उनले भने, ‘यो कूटनीतिक मर्यादा विपरित भन्ने धारणा ठिक होइन । नेपाली काँग्रेसको आदरणीय सभापति भएको नाताले नेपाली काँग्रेस अन्य विभिन्न देशका पार्टीहरुसँग पनि एउटा मैैंत्रीपूर्ण सम्बन्ध राख्दै आएको छ । चीनको कम्युनिष्ट पार्टीसँग पनि नेपाली काँग्रेसको राम्रो सम्बन्ध छ । त्यस्तै गरेर भारतको काँग्रेस पार्टीसँग पनि छ । र, अहिले भारतीय जनता पार्टीमा उहाँ प्रधानमन्त्रीको नाताले जानु भएको होइन।’
परराष्ट्रमन्त्रीले जस्तोसुकै स्पष्टीकरण दिएपनि घाम जत्तिकै छर्लङ्ग छ कि देउवा प्रधानमन्त्रीकै रुपमा भारत भ्रमणमा गएको कुरा । भोलि भारतमा कांग्रेसको सरकार आउन सक्छ । त्यति बेला प्रधानमन्त्री देउवाको यो भ्रमणको पनि त समीक्षा होला नि । चिनियाँ विदेशमन्त्री नेपाल आउँदा विपक्षी दलको नेतालाई भेटेर जान्छन् भने हाम्रा प्रधानमन्त्री भारत जाँदा अन्य दलका नेतालाई भेट्नु पर्दैनथियो त ? यसले कुटनीतिक क्षेत्रमा कस्तो सन्देश गयो त ? यसको अर्थ देउवाको उच्च प्राथमिकतामा भाजपा र भाजपा नेतृत्व रहेको देखिन्छ । एउटा देशको प्रधानमन्त्री छिमेकी मुलुकको भ्रमण जाँदा सत्तारुढ दलको चाहिँ मुख्यालयमा जाने अनि अन्य दलका नेताहरुसँग पानी बाराबार झैं भेट समेत नगरी फर्किँदा प्रधानमन्त्रीको भ्रमणलाई कसरी सफल भन्ने त ? लज्जित कुटनीतिलाई देखेर भारतमा लामो समय शासन गरेको कंग्रेस आई, उदयीमान आम आदमी पार्टी लगायतका पार्टीले के भने होलान्, के देउवालाई यसको हेक्का होला ?
विजेपीको मुख्यालयमा नेपाली प्रतिनिधिमण्डल



