‘पल्पसा क्याफे’ वैशाख ९ गतेबाट मण्डला थिएटरमा

काठमाडौँ । नारायण वाग्लेको उपन्यास ‘पल्पसा क्याफे’ मा आधारित नाटक आगामी वैशाख ९ गतेबाट मञ्चन हुने भएको छ । कोरोना महामारीका कारण गत वर्ष रोकिएको थिएटर भिलेज समूहको यो नाटक थापागाउँ स्थित मण्डला थिएटरमा मञ्चन हुन लागेको हो।

अहिले नाटकको तयारी तीव्र गतिमा भइरहेको थिएटर भिलेजले जनाएको छ। सुरज सुवेदीको नाट्य रुपान्तरणमा विमल सुवेदीको निर्देशन र दीलिप रानाभाटको सहनिर्देशनमा हुन लागेको उक्त नाटकको प्रदर्शन समय ढिला भएसँगै नाटक खेल्ने कलाकारहरूमा पनि फेरबदल भएको छ ।

अघिल्लो वर्ष पल्पसाको भूमिकामा स्वस्तिमा खड्काले खेल्ने सार्वजनिक भए पनि समयको कारण उनी उपलब्ध हुन नसकेपछि उनको स्थानमा सृष्टि श्रेष्ठले पल्पसाको भूमिका निभाउने भएकी छन् ।

दृश्यको भूमिका नाटक निर्देशक विमल सुवेदी आफैँले गर्ने भएका छन् । अर्का प्रमुख पात्र सिद्धार्थको भूमिका भने दिपेश राईले निभाउँदै छन् । नाटक पटक पटक सरेकाले नयाँ नयाँ कलाकारहरूलाई जुटाउन समस्या भएको कास्टिक डिरेक्टर तथा सहनिर्देशक दिलिप रानाभाटले जानकारी दिए।

नाटकमा सृष्टि र विमलका साथमा दिपेश राई, संगीता थापा, पूर्णिमा आचार्य, बच्चु हिमांशु, सरगम राई, ङिमा शेर्पा, जेनी सुनुवार, चक्र पुलामी, श्रवण सिंह राना, लगायतका कलाकारहरूको अभिनय रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *