USAID

सत्ता गठबन्धन बैठकः चुनावी तालमेलको मोडालिटी बनाइँदै

काठमाडौं। सत्ता गठबन्धन आबद्ध दलहरू स्थानीय तह निर्वाचनमा चुनावी तालमेल गर्ने विषयमा घनीभूत छलफलमा जुटेका छन् । निर्वाचन मिति नजिकिँदै गर्दा गठबन्धन आबद्ध दलले स्थानीय प्रभाव हेरेर चुनावी तालमेल गर्ने विषयमा छलफल अघि बढाउँदै मोडालिटी तय गर्न अघि बढेका हुन् ।

सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी नेपालका शीर्ष तहका नेताबीच मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा चुनावी तालमेलबारे छलफल भएको थियो । सो छलफलमा तालमेलको मोडालिटीका विषयमा पनि छलफल भएको छ । त्यस्तो मोडालिटी तयार गर्न संयन्त्र बनाउने विषयमा गठबन्धन आबद्ध शीर्ष नेता सहमत छन् ।

बैठकमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल सहभागी थिए । जसपा अध्यक्ष उपेन्द्र यादव भने काठमाडौंबाहिर भएकाले बैठकमा सहभागी भएनन् ।

बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एसका अध्यक्ष नेपालले ६ महानगरपालिका र ११ उपमहानगरपालिका तथा नगरपालिकाहरूमा गठबन्धनले तालमेलको निर्णय गर्न ढिला गर्न नहुनेमा जोड दिएका थिए ।

प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवाले भने पार्टीमा छलफल गरेर निर्णय लिने भनेका थिए । उनले महानगर, उपमहानगर र नगरपालिकामा केन्द्रमा छलफल गर्ने तीबाहेकका स्थानीय तहमा दलहरूको अवस्था हेरेर तालमेलमा अघि बढ्न सकिने बताएका थिए ।

सोमबार राति कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको निवासमासमेत कांग्रेसका शीर्ष नेताहरू स्थानीय तह निर्वाचनमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल भएको थियो । सो छलफलमा आगामी सबै तहका निर्वाचनमा गठबन्धन आबद्ध दलहरूबीच तालमेल गरेर जाने विषयमा छलफल भएको कांग्रेसका एक पदाधिकारीले जानकारी दिए ।

कांग्रेसले चुनावी तालमेलमा ठोस निर्णय भने ११ चैतमा बस्ने केन्द्रीय समिति बैठकमार्फत गर्ने आजको राजधानी दैनिकमा खवर छ ।

CivActsAd

Leave a Reply

Your email address will not be published.