आठ महिनामा कर्जा साढे ४ खर्ब

काठमाडौं। चालू आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्म जम्मा १ खर्ब ३२ अर्ब १२ करोड निक्षेप थपिएको छ । सोही अवधिमा कर्जा भने ४ खर्ब ५१ अर्ब २४ करोड रूपैयाँ विस्तार भएको छ । आठ महिनाको अवधिमा निक्षेप १ खर्ब ३२ अर्ब र कर्जा ४ खर्ब ५१ अर्ब प्रवाह भएका कारण बैंकसँग लगानीयोग्य तरलताको अभाव भएको हो ।

आठ महिनामा निक्षेप संकलनभन्दा ३ खर्ब २० अर्ब बढी कर्जा गएको देखिएको छ । साउनदेखि असोजसम्म सामान्य रूपमा निक्षेप बढेकोमा कात्तिकदेखि मंसिरसम्म खासै निक्षेपमा प्रगति हुन सकेको थिएन ।

पुसमा ह्वात्तै निक्षेप बढेकोमा माघ फेरि ह्वात्तै घटेको थियो । फागुनमा आएर २२ अर्ब निक्षेप बढेको थियो । कर्जा भने प्रत्येक महिनाजसो बढ्ने क्रममा नै रहेको छ । फागुन महिनाभरिमा २२ अर्ब निक्षेप संकलन हुँदा १७ अर्ब कर्जा विस्तार गरेका छन् । नेपाल बैंकर्स एसोसिएसनका अनुसार फागुनभन्दाका अघिल्ला महिनामा यति अंकमा निक्षेप संकलन बढेको थिएन ।

माघ मसान्तसम्म कुल ४३ खर्ब ११ अर्ब रुपैयाँ निक्षेप संकलन भएकोमा फागुन मसान्तसम्म आइपुग्दा ४३ खर्ब ३३ अर्ब पुगेको छ । सो महिनामा नेपाली मुद्रामा कुल १९ अर्ब संकलन भएको थियो भने विदेशी मुद्रामा २ अर्ब थपेको थियो ।

त्यस्तै, माघ मसान्तसम्म ४१ खर्ब ५५ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा फागुन मसान्तसम्म ४१ खर्ब ७२ अर्ब रुपैयाँ पुगेको छ । फागुनमा नेपाली मुद्रामा ४७ अर्ब कर्जा विस्तार भएको तथ्यांक नेपाल बैंकर्स एसोसिएसनको रहेको छ । विदेशी मुद्रामा कर्जा भने फागुनमा ३० अर्बले घटेको छ ।

माघ मसान्तसम्म ८२ अर्ब विदेशी मुद्रामा कर्जा रहेकोमा फागुन मसान्तसम्म आइपुग्दा ५२ अर्बमा सीमित भएको छ । फागुनमा अन्तिम सातामा मात्र ७ अर्ब निक्षेप संकलन भएको र ३ अर्ब कर्जा विस्तार भएको नेपाल बैंकर्स एसोसिएसनले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ ।

नेपाल बैंकर्स एसोसिएसनका अनुसार असार मसान्तसम्म कुल ४२ खर्ब १ अर्ब निक्षेप संकलन भएको थियो भने ३७ खर्ब २१ अर्ब कर्जा विस्तार भएको थियो । फागुन मसान्तसम्म निक्षेप ४३ खर्ब ३३ अर्ब पुगेको छ भने कर्जा ४१ खर्ब ७२ अर्ब पुगेको छ । राजधानी दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *