अल्पसङ्ख्यक र सिमान्तकृत समूहको अधिकार सुनिश्चित गर्न सरकार क्रियाशीलः प्रधानमन्त्री देउव

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले शेर्पा समुदायको नयाँ बर्ष २१४९ अर्थात ग्याल्बो ल्होसारको उपलक्ष्यमा सम्पूर्ण शेर्पा समुदायमा सुख, शान्ति, सुस्वास्थ्य र प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।

ग्याल्बो ल्होसारको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री देउवाले नेपाल जातीय, भाषिक, धार्मिक एवं सांस्कृतिक विविधताले सम्पन्न मुलुक भएको उल्लेख गरेका छन् । हरेक जातजातिका आआफ्ना विशिष्ट रीतिरिवाज, चाडपर्व र संस्कृति भए पनि सबै जाति र धर्म मान्ने सम्प्रदायले यो विविधतालाई सम्मान गर्नु नेपालीको मौलिक एवं विशिष्ट पहिचान भएको प्रधानमन्त्री देउवाको भनाइ छ ।

प्रधानमन्त्री देउवाले सरकारले सन् २००७ सेप्टेम्बर १३ मा आदिवासीको अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय श्रम सङ्गठनको प्रावधानलाई अनुमोदन गरिसकेको र सोअनुसार महासन्धि कार्यान्वयनमा प्रतिबद्ध रहेकोसमेत उल्लेख गरे ।

उनले सरकार अल्पसङ्ख्यक र सिमान्तकृत समूहको अधिकारलाई सुनिश्चित गर्न तथा नेपाली धार्मिक एवं सांस्कृतिक पर्व र परम्परालाई संरक्षण एवं सम्वद्र्धनका लागि सदैव क्रियाशील रहेको जनाएका छन् ।

कोभिड–१९ को महामारी अन्त्य नभइसकेको वर्तमान अवस्थामा सतर्कतापूर्वक स्वास्थ्य मापदण्डको पालना गरी नयाँ वर्षलाई हर्षोल्लासपूर्वक मनाउन अनुरोध गर्दै प्रधानमन्त्री देउवाले ग्याल्बो ल्होसारले मुलुकको एकता र समृद्धिका लागि एकजुट भएर अघि बढ्न सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *