तस्बिरमा हेर्नुस् सेना दिवस

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी महाशिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा मंगलबार आयोजित विशेष समारोहमा सरिक भएकी छन् ।

सो अवसरमा राष्ट्रपति भण्डारीले त्यहाँस्थित सैनिक स्मारकमा पुष्पहार अर्पण गर्नाका साथै नेपाली सेनाद्वारा प्रदान गरिएको सलामी ग्रहण गरिन् । राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति हुन् । नेपाली सेनाले २०४७ सालदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ । शास्त्रीय मान्यताअनुसार शिवलाई शान्ति र सुरक्षाको प्रतीकका रूपमा लिइन्छ ।

समारोहमा राष्ट्रपति भण्डारीले नेपाली सेना, सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा प्रकाशित वार्षिक पत्रिकाका ‘सिपाही–२०७८’ र ‘ग्लोरियस पास्ट अफ नेपाली आर्मी’ पुस्तक विमोचनका साथै ‘फ्री फल जम्प’मा प्रथम हुने अमल्दार वसन्तकुमार चन्द र द्वितीय हुने सुवेदार किसान पौडेललाई पुरस्कार एवं प्रमाणपत्र प्रदान गरिन् । सो अवसरमा नेपाली सेनाको हेलिकप्टरले पुष्पवृष्टि गर्नाका साथै ‘सेना दिवस–२०७८’ लेखिएको ब्यानर प्रदर्शन गरेको थियो ।

समारोहमा सेनाले राइफल र तोपबाट महाशिवरात्रि बढाइँ गरेको थियो । बढाइँ कवाजअन्तर्गत राइफलद्वारा पाटा–पाटा लहरे र एकट्ठा प्रस्तुत गरियो । सैनिक र नेपाली परम्परागत वेशभूषा झल्कने विविध कला, नृत्य र सङ्गीतको धुन प्रदर्शन गरिएको थियो । त्यस क्रममा स्वस्तिक चिह्न, शिव वन्दना र राष्ट्रभक्ति भावको गीत सङ्गीतसमेत प्रस्तुत भयो । सैनिक मञ्चमा मास पिटीका साथैै तेक्वान्दो, खुकुरी ड्रिल प्रस्तुत भयो । समारोहमा नेपाली सेनाको व्यावसायिक कार्यकुशलतालाई झल्काउने केही सैनिक कौशलसमेत प्रस्तुत गरियो ।

उक्त अवसरमा सैनिक हवाई महानिर्देशनालयको हेलिकप्टरबाट ब्यानर प्रदर्शन, हेलिकप्टर प्रदर्शनी, सैनिक ब्यान्डबाट ब्यान्ड डिस्प्ले गरियो । नेपाली सेनाले प्रयोग गर्दै आएका विभिन्न खालका सवारी साधन, उपकरण र हातहतियारको समेत प्रदर्शन भयो । समारोहमा बेलायती गोर्खा ब्रिगेडको एक टुकडीले ब्यान्ड डिस्प्ले प्रस्तुत गर्यो ।

उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, कायम–मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना समारोहमा उपस्थित थिए ।

यसैगरी मन्त्रिगण, सांसद, संवैधानिक निकायका पदाधिकारी, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, सुरक्षा निकायका प्रमुख, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि र समाजका लब्ध प्रतिष्ठित महानुभाव पनि शिवरात्रिको बढाइँ हेर्न टुँडिखेल पुगेका थिए । शिवरात्रिको बढाइँ हेर्न टुँडिखेल वरपर सर्वसाधारणको घुइँचो लागेको थियो ।

नेपाल टेलिभिजनलगायत विद्युतीय माध्यमले समारोहको प्रत्यक्ष प्रसारण गरेका थिए । समारोहपछि प्रधानसेनापति प्रभुराम शर्माले समाजका विभिन्न क्षेत्रबाट विशिष्ट योगदान पुर्याएका महानुभावलाई प्रधानसेनापति प्रशंसा पदक प्रदान गरे । समारोहको प्रारम्भमा प्रधानसेनापति शर्माले तारादल गणलाई ब्यानर प्रदान गर्नाका साथै उत्कृष्ट कार्य गर्ने अन्य विभिन्न गणलाई पुरस्कार एवं निशान चिह्न प्रदान गरेका थिए ।

तस्बिरः रत्न श्रेष्ठ/रासस

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *