सर्लाहीमा बसको ठक्करबाट एक जनाको मृत्यु, १३ घाइते

सर्लाही । पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ बाँकेस्थित जङ्गलमा यात्रु बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ भने बसमा सवार १३ जना घाइते भएका छन् ।

सिरहाको बरियारपट्टीबाट काठमाडौँतर्फ आउँदै गरेको ना७ख ७५३ नम्बरको रात्रिबसले विपरीत दिशाबाट गइरहेको ना२९प ४४९८ नम्बरको मोटरसाइकललाई गएराति ठक्कर दिएको थियो । मोटरसाइकललाई ठक्कर दिएपछि रात्रिबस राजमार्ग बायाँ साइडमा पल्टिदा बसमा सवार ४० जनामध्ये १२ यात्रु घाइते भएका सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।

बसको ठक्करबाट मोटरसाइकल पछाडि सवार ईश्वरपुर–१२, घारीबथानका २७ वर्षीय भक्तबहादुर खड्काको घटनास्थलमै मृत्यु भएको छ भने सोही ठाउँका मोटरसाइकल चालक २६ वर्षीय अरुण खड्का गम्भीर घाइते भएका छन् । उनीलाई लालबन्दीस्थित गढीमाई अस्पतालमा सामान्य उपचार गरी थप उपचारका लागि नेशनल मेडिकल कलेज वीरगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।

लालबन्दी मोडेल अस्पतालमा उपचारपश्चात सात जना डिस्चार्ज भई आ–आफ्नो घरतर्फ फर्किसकेका र बाँकी चार जना घाइतेको सोही अस्पतालमा उपचार भइरहेको छ । एक जनालाई सिरहातर्फ सिफारिस गरिएको प्रहरीले जनाएको छ । बाक्लो कुहिरोका कारण राजमार्गमा सवारी दुर्घना बढेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *