बाँकेको सीमावर्ती क्षेत्रमा प्रहरी सक्रियता, चार करोड भन्दा बढी राजश्व संकलन

बाँके । नेपाल–भारत सीमावर्ती क्षेत्रमा हुने अवैध कार्य रोक्न बाँके प्रहरीले सक्रियता देखाएको छ । पछिल्लो छ महिनामा बाँके प्रहरीले भन्सार चोरी पैठारी रोकथाममा सक्रियता देखाइ चार करोड ३६ लाख २६ हजार रुपैयाँ भन्दाबढी राजस्व सङ्कलन गर्न सफल भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए ।

उनका अनुसार प्रहरीले यो अवधिमा भन्सार चोरी पैठारीमा २७, भारतबाट अवैधरुपमा ल्याइएका बोइलर कुखुरा, चल्ला, मासु र माछामा सात जनालाई पक्राउ गरी कार्वाही गरेको छ । भन्सार चोरी पैठारीबाहेक अन्य अवैध कारोवार रोकथाम गर्न पनि प्रहरीले सक्रियता बढाउँदै गएको छ ।

प्रहरीले सुन तस्करीमा दुई जना, जुवातासमा ६१ जना, ट्राफिक नियम उल्लङ्घनमा २० हजार ५३५ सवारी साधन र सवारी साधन चोरीमा १७ जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक अधिकारीले बताए ।

बाँके प्रहरीले पछिल्लो छ महिनामा भन्सार चोरी पैठारीबाट चार करोड ३६ लाख २६ हजार ६०८, सुन तस्कर कारबाहीबाट तीन करोड १३ लाख ९७ हजार ६७५, ट्राफिक कारबाहीबाट एक करोड १२ लाख ३४ हजार ५०० र नदीजन्य पदार्थ उत्खननबाट तीन लाख ३० हजार गरी राजस्व सङ्कलन भएको प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए ।

जुवातास कारबाहीबाट नौ लाख ५१ हजार ६१०, काठ तस्कर कारबाहीबाट छ लाख ५३ हजार ९००, क्वारेन्टिन नगराइएका कुखुरा तथा माछा मासुबाट २० लाख र फरार अभियुक्तबाट असुल जरिवाना ३७ लाख ९९ हजार ५१४ गरी नौ करोड ३९ लाख ९३ हजार ८०७ असुली भएको उहाँको भनाइ छ । प्रहरीले गत वर्ष यो अवधिमा दुई करोड ७५ लाख ३४ हजार ७३८ राजस्व सङ्कलन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *