मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमडी एमएस कक्षा सञ्चालन गरिने

जनकपुर । मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानले एमडी एमएस कक्षा छिट्टै सञ्चालन गर्ने भएको छ । स्थापना भएको करिब डेढ वर्षकै अवधिमा बिएसी नर्सिङ, बिपिएच, बिएमएलटी र बिएन एस कक्षा सञ्चालन गर्न सफल प्रतिष्ठानले छिट्टै एमडी एमएस कक्षा पनि सञ्चालनको तयारी गरेको हो । मेडिसिन, सर्जरी, गाइनोलोजिष्ट, पेडियाट्रिक्स, अर्थाेपेडिक्स र रेडियोलोजिष्ट गरी छ विषयमा एमडी एमएस कक्षा सञ्चालन गर्ने तयारी गरिएको प्रतिष्ठानका उपकुलपति प्रा डा रामकेवल साहले जानकारी दिए ।

“हामी छिट्टै एमडी एमएस कक्षा सञ्चालन गर्ने तयारीमा छौँ”, उनले भने, “तर प्रतिष्ठानसँग अहिले आफ्नो स्वामित्वको अस्पताल नहुँदा उक्त कक्षा सञ्चालनमा केही कठिनाइ भएको छ ।” “एमडी एमएस कक्षा सञ्चालनका लागि आफ्नै स्वामित्वको अस्पताल चाहिन्छ”, उपकुलपति साहले भने, “आफ्नो स्वामित्वको अस्पताल प्रतिष्ठानसँग छैन, ऐनअनुसार जनकपुरधामस्थित प्रादेशिक अस्पताल प्रतिष्ठानको मातहतमा आइसकेपनि पूर्ण स्वामित्व हस्तान्तरण भइ नसकेकाले चाहेर पनि एमडी एमएस कक्षा सञ्चालन गर्न सकिएकोे छैन्, यद्यपि प्रादेशिक अस्पतालको स्वामित्व प्रतिष्ठानमा हस्तान्तरणको पहल भइरहेकाले त्यो हुने बितिकै एमडी एमएस कक्षा सञ्चालन गर्नेछौँ ।”

गत २०७७ कार्तिकमा गठन भएको प्रतिष्ठानले चिकित्सा शिक्षा आयोगबाट मान्यता प्राप्त गरी २०७८ मङ्सिर महिनादेखि चार विषयको कक्षा सञ्चालन गर्दै आएको छ । जसअन्तर्गत बिएन एस सङ्कायमा १६, बिएसी नर्सिङ, बिपिएच र बिएमएलटीमा एक÷एक विद्यार्थी अध्ययनरत रहेको प्रतिष्ठानले जनाएको छ ।

सबै शैक्षिक कार्यक्रममा २०/२० विद्यार्थी भर्ना गराउनका लागि अनुमति पाए पनि चिकित्सा शिक्षा आयोगले यसबर्ष लिएको प्रबेश परीक्षामा थोरै मात्र विद्यार्थी उत्तिर्ण भएकाले अपेक्षाकृत विद्यार्थी भर्ना हुन नसकेको प्रतिष्ठानले जनाएको छ । गठन भएको छोटो समयमै स्वास्थ्य सङ्कायतर्फका विषय सञ्चालन गर्न सफल प्रतिष्ठानमा ऐनले तोक बमोजिमको पदाधिकारी नियुक्त हुन नसक्दा अन्य प्रशासनिक तथा व्यवस्थापकीय गतिबिधिमा समेत असर परेको छ ।

उक्त प्रतिष्ठानको ऐनमा उपकुलपति, शिक्षाध्यक्ष, रेक्टर, रजिष्टार, अस्पताल निर्देशक र पदपूर्ति समिति अध्यक्षको व्यवस्था भए पनि हाल सो प्रतिष्ठानमा उपकुलपति बाहेक सबै पद रिक्त छन् । प्रदेश सरकारले २०७७ साल पुसमा प्रतिष्ठानको उपकुलपतिमा साह, रेक्टरमा डा. अङ्कुरकुमार साह र रजिष्टारमा डा. बिनोदकुमार यादवलाई नियुक्त गरेपनि नियुक्तिको बिषयलाई लिएर जनकपुरस्थित उच्च अदालतमा मुद्दा दायर भए पछि हाल ती पदहरु रिक्त हुन पुगेका थिए ।

प्रदेश सरकारले नियमावली नै नबनाइ प्रतिष्ठानमा नियुक्ति दिएको भन्दै दायर रिटमा उक्त अदालतले उपकुलपति साह अदालतको आदेशमा पुनःबहाली भएपनि नियुक्त भएका रेक्टर र रजिष्टारको पदमा नियमावली बनाइ पारदर्शी ढङ्गबाट नियुक्त गर्न परमादेश आदेश जारी गरेको थियो । अदालतको आदेश पछि नियमावली तयार गरेर प्रतिष्ठानमा रिक्त पदाधिकारीको पदपूर्तिका लागि गृहकार्य भइरहेको प्रादेशिक सामाजिक विकास मन्त्री तथा प्रतिष्ठानका सहकुलपति नवलकिशोर साहले बताए ।

“सो विवादमा अदालतले २०७८ पुस ६ गते परमादेश जारी गरिसके पनि परमादेशको पूर्ण पाठ आइसकेको छैन”, मन्त्री साहले भने, “जसका कारण पदपूर्तिलगायतका कार्य अघि बढाउन गाह्रो भएको छ ।” अदालतबाट परमादेशको पूर्ण पाठ आएलगत्तै अन्य कार्य अघि बढ्ने उनको भनाइ थियो । प्रादेशिक अस्पतालको स्वामित्व हस्तान्तरणको समेत काम अघि बढिसकेकाले आवश्यक तयारी पूरा हुनेबितिकै प्रतिष्ठानलाई अस्पतालको स्वामित्व हस्तान्तरण गरिने मन्त्री साहले जानकारी दिए ।

प्रदेश सरकारबाट वार्षिक १० करोड अनुदानका भरमा सञ्चालन हुँदै आएको सो प्रतिष्ठानमा हाल दुई प्रशासनिक कर्मचारी, पाँच पूर्णकालीन शिक्षक र केही आंशिक शिक्षक कार्यरत छन् । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत कुलपति र सामाजिक विकास मन्त्री साह सहकुलपति रहेको सो प्रतिष्ठानसँग अन्य आफ्नो कुनै आर्थिक स्रोत नहुँदा प्रदेश सरकारकै अनुदानबाट शिक्षक, कर्मचारीलगायतको तलब भत्ता, स्वास्थ्य उपकरण तथा शैक्षिक कार्यक्रम सञ्चालन हुँदै आएको छ ।

प्रदेशमा स्वास्थ्य क्षेत्रका गुणस्तरीय जनशक्ति उत्पादन गरी गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउने उद्देश्यका साथ स्थापना भएको प्रतिष्ठानले छोटो समयमै स्वास्थ्यसम्बन्धी कक्षा सञ्चालन गर्नु महत्वपूर्ण उपलब्धि भएको प्रदेशसभा सदस्य रामअशिष यादवले बताए ।“जुन उद्देश्यका साथ प्रदेश सरकारले प्रतिष्ठान स्थापना गरेको छ, त्यहीअनुसार नै काम अघि बढाएको पाउँदा खुशी लागेको छ”, प्रदेशसभा उनले भने, “यसबाट थोरै खर्चमा पनि मधेसका जनताले आफ्ना छोराछोरीलाई डाक्टर बनाउन सक्छन्, यो हाम्रा लागि उपलब्धिपूर्ण काम हो । प्रतिष्ठानमा रहेका समस्यालाई तत्काल समाधान गर्नु जरुरी छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *