बेँसीसहर–चामे सडक २७ वर्षपछि कालोपत्र गरिँदै

लमजुङ । ट्रयाक खोलेको २७ वर्षपछि बेँसीसहर–चामे सडक कालोपत्र गरिँदै छ । स्थानीयवासीको श्रमदान र सरकारको सहयोगमा सडक कालोपत्र गर्न थालिएको हो । विसं २०५१ मा यस खण्डअन्तर्गत बेँसीसहरबाट खुदीसम्म मोटरबाटोको ट्रयाक खोल्ने काम भएको थियो ।

बेँसीशहर–चामे सडकअन्तर्गत बेँसीसहरबाट खुदीसम्मको करिब सात दशमलव आठ किलोमिटर सडक कालोपत्र गर्न पहिलो चरणको काम भइरहेको डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयका सूचना अधिकारी पुरुपोत्तम अधिकारीले जानकारी दिए । उनले भने, “सडक चौडाइ गर्ने, पर्खाल निर्माण, कल्भर्ट हाल्नेलगायत काम भइरहेको छ ।”

पाँच दशमलव पाँच मिटर सडक, एक दशमलव एक मिटरको नाली तथा एक मिटर चौडाइको पैदल बाटो निर्माण भइरहेको छ । सो काम सकिएपछि अस्फाल्ट प्रविधिको कालोपत्र गरिनेछ । पहिलो चरणको काम आगामी असारसम्म सकिने छ । आशिष अनेस्ट जेभी चितवनले २०८० असार मसान्तसम्म कालोपत्र सक्ने गर्ने गरी गत असारमा सम्झौता गरेको हो ।

सो कार्यका लागि कूल  ५२ करोड ९६ लाख खर्च हुने अधिकारीले जानकारी दिए । वर्खाका कारण असोजदेखि मात्र काम सुरु भएको आयोजनाले जनाएको छ । बेँसीसहरदेखि खुदीसम्मको करिब साढे सात किलोमिटर सडकखण्डभित्र पर्ने बेँसीसहर नगरपालिका–६ स्थित ३०० मिटर लामो खरखरेभिरका लागि चाँडै बोलपत्र आह्वान गरिने भएको छ ।

खुदीबाट मनाङसम्म सडकको ट्रयाक नेपाली सेनाले २०६९ सालमा खोलेर डिभिजन सडक कार्यालय दमौलीलाई हस्तान्तरण गरेको हो । उक्त ६५ किलोमिटर लामो सडकले लमजुङ र मनाङलाई जोडेको छ । । लमजुङतर्फ ३५ किलोमिटर तथा मनाङतर्फ ३० किलोमिटर सडक पर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *