१५ महिनापछि जनकपुरमा रेल गुड्यो

जनकपुरधाम। पालभित्र छोपेर राखिएको नेपाली रेलको शनिबार पुनः परीक्षण गरिएको छ । परीक्षणकै लागि धनुषाको इनर्वामा गत १५ महिनादेखि रेललाई पालबाहिर ल्याइएको हो । रेल्वे ट्रयाक, इन्जिनको अवस्था बुझ्न इनर्वाबाट जनकपुरधामको कुर्थासम्म नेपाली रेल परीक्षणका लागि गुडाइएको रेल्वेका अधिकारीहरुले जानकारी दिएका छन् ।

यसअघि भारती रेल्वे कम्पनी कर्पोरेसन कोंकणबाट नेपाल सरकारले खरिद गरेको रेल नेपाली भूमिमा ल्याएको दिन परीक्षण गरिएको थियो । २०७७ असोज ३ गते नेपाली रेल नेपाली भूमिमा ल्याइएको थियो । कम्पनीका मेकानिकल इन चिफ दीपक त्रिपाठीले नेपाल रेल्वे कम्पनी लिमिटेडका तत्कालीन महाप्रबन्धक गुरु भट्टराईलाई हस्तान्तरण गरेका थिए । त्यति बेला रेलको परीक्षण गरेर धनुषाको इनर्वामा पालभित्र राखेर थन्काइएको थियो ।

नेपाल रेल्वेका महाप्रबन्धक निरञ्जन झाले नेपाली भूमिमा रेल गुडाउने सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिए । ‘फेब्रअरी १० भित्रै रेल गुडाउने हाम्रो तयारी छ’, महाप्रबन्धक झाले भने, ‘रेलको इन्जिन र ट्रयाकको अवस्था परीक्षणका लागि आज रेल गुडाइएको हो।’ यद्यपि रेल गुडाउने मिति सम्बन्धमा राजनीतिक स्तरबाटै निर्क्योल हुने उनको भनाइ थियो ।

उनले दुई देशबीच सहमतिपछि रेल गुडाउने मिति तोकिने बताए । उनले भने, ‘दुई देशका प्रधानमन्त्रीले नै रेलको उदघाटन गर्ने भएकाले केही समय लाग्नेछ ।’

नेपालले खरिद गरेको आधुनिक रेल गुडाउन रेल्वे कम्पनी लिमिटेडले ६० जना जनशक्ति खटाएको छ । ‘यसअघि कम्पनीसँग १ सय ५१ जना जनशक्ति थिए’, महाप्रबन्धक झाले भने, ‘हामीले न्यूनतम आवश्यक जनशक्ति परिचालन गरेर रेल संचालन गर्ने तयारीमा लागेका छौं । कम्पनीले आर्थिक भारत कम गर्न कर्मचारी संख्या घटाएको हो ।

उनले नेपाली रेल गुडाउन तत्कालका लागि २६ जना भारतीय जनशक्ति परिचालन हुने जानकारी दिए । परीक्षणका लागि १४ जना शनिबार नेपाल आइपुगेका हुन् । भारतीय कर्मचारीहरुले नै नेपाली रेलको अवस्था जाँच गरेर इनर्वाबाट कुर्थासम्म गुडाएर ल्याएका हुन्।

पाल भित्र थन्काएर राखिएको नेपाली रेलको वृतचित्र बनाउने उद्देश्यले गुडाइएको समेत हल्ला चलेको छ । भारतको उत्तरप्रदेशमा विधानसभा निर्वाचन हुन लागेको छ । अयोध्या र जनकपुरधामबीच सांस्कृतिक सम्बन्ध रहँदै आएको छ । उत्तर प्रदेशका मतदातालाई प्रभावित पार्नका लागि भारतीय सत्ताधारी दल भारतीय जनता पार्टीले आफ्नो उपलब्धि जनाउने उद्देश्यले वृतचित्र बनाउन लागिएको स्रोतले जनाएको छ । सोही वृतचित्र निर्माणकै लागि डेढ वर्षदेखि पालभित्र छोपेर राखिएको नेपाली रेलको घुम्टो उघारिएको हल्ला चलेको छ । महाप्रबन्धक झाले भने हल्ला निराधार रहेको दाबी गरे ।

‘यो नेपाली रेल हो’, महाप्रबन्धक झाले भने, ‘हामीले रेल सञ्चालनको अन्तिम तयारीको उद्देश्यले मात्रै नेपाली रेल अवस्था बुझ्न परीक्षणका लागि गुडाएका हौ ।’ इनर्वाबाटै एक वृतचित्र निर्माण कम्पनीको क्यामराम्यान नेपाली तथा भारतीय अधिकारीहरुको साथमा जनकपुरधाम रेलमा आइपुगेका थिए । राजधानी दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *