तनहुँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले विकास निर्माणमा अस्वस्थ राजनीति गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताएका छन् । तनहुँको व्यास नगरपालिका–१ स्थित निर्मल रानाभाट सिर्जनशील समाजले शनिबार आयोजना गरेको कार्यक्रममा उनले विकास निर्माणको अनावश्यक जस लिने होडमा अस्वस्थ राजनीति गर्ने प्रवृत्ति बढ्दै गएको बताए ।
मन्त्री श्रेष्ठले विकास निर्माणमा सहकार्य गर्नुपर्ने उल्लेख गर्दै विकासमा सबैले सहकार्य गर्ने वातावरण सिर्जना गर्नुपर्ने बताए । उनले कोरोनाका कारण धेरै विकास निर्माणका काम अवरुद्ध भएको बताए ।
“सबैलाई विकास चाहिएको छ, त्यसतर्फ सबै राजनीतिक दलबीच सहकार्य गरौँ”, उनले भने, “म जे बोल्छु त्यो पूरा गरेरै छाड्छु ।” मन्त्री श्रेष्ठले वैदेशिक रोजगारमा जाने युवालाई दुःख दिने दलाललाई कानुनी कारबाहीको दायरामा ल्याएरै छाड्ने प्रतिवद्धता व्यक्त गरे ।
“रानाभाट जाति राज्यबाट सूचीकृत हुन नसकेको कुरा सुन्दा दुःख लागेको छ, यसमा रानाभाट समाजको पनि कमजोरी रह्यो,” उनले भने, “यसमा मेरो ध्यानाकर्षण भएको छ ।” उनले स्वर्गीय निर्मल रानाभाटलाई शहीद घोषणा गर्ने विषयलाई पनि गम्भीरतापूर्वक मनन गरेको बताए ।
