माओवादी महाधिवेशनः प्रतिनिधिका थरीथरीका सुझाव

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को आठौं महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहालले पेस गरेको राजनीतिक प्रतिवेदन र नेता देव गुरुङले पेस गरेको विधान संशोधनमा विभिन्न २५ समूह बनाई मंगलबार छलफल भएको छ ।

समूहगत छलफल गर्दै बुधबार समूहमा आएका सुझाव पेस गर्ने कार्यक्रम रहेको छ । नेताहरू विभिन्न समूहमा सहभागी भएर छलफल गरिरहेकाले आएको सुझावलाई समेटेर दस्ताबेज परिमार्जनसहित पारित गरिनेछ । दस्तावेजमा छलफलपश्चात् नेतृत्व चयनको विषय अगाडि बढ्नेछ ।

सुझाव पेस गर्न टोली नेतालाई १५ मिनेटको समय छुट्याइएको छ । मंगलबार बिहान बसेको नेताहरूको बैठकले राजनीतिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथि सुझाव राख्न प्रत्येक समूहका नेतालाई १५ मिनेटको समय छुट्याइएको हो ।

बुधबार दिउँसो १ बजेदेखि समूह नेताले आफ्नो सुझाव राख्ने कार्यक्रम रहेको छ । छलफलका लागि माओवादीले विभिन्न प्रदेशगत र क्लस्टर मिलाएर २५ वटा समूह बनाएको छ ।
केन्द्रीय समितिमा महिलाको ३५ प्रतिशत, दलितको १५ प्रतिशत, मुस्लिमको ५ प्रतिशत प्रतिनिधित्व हुने व्यवस्था गरिएको छ । सबै समूहबाट ४० वर्षमुनिका युवाको २० प्रतिशत प्रतिनिधित्व अनिवार्य गरिएको छ ।

केन्द्रीय समितिको कुल सदस्यअनुसार १० प्रतिशत केन्द्रीय सदस्य मनोनीत गर्न सक्ने प्रस्तावसमेत आएको छ । राजधानी दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *