कांग्रेसले ३ करोड चन्दा उठायो

काठमाडौं । १४औं महाधिवेशन सम्पन्न गर्न नेपाली कांग्रेसले अहिलेसम्म ३ करोड चन्दा उठाएको छ। केन्द्रीय समितिले गठन गरेको आर्थिक समितिका एक सदस्यका अनुसार प्रतिबद्धता जनाए अनुसार करिब २ करोड चन्दा उठ्न अझै बाँकी छ।

‘अहिलेसम्म झण्डै ३ करोड रूपैयाँ चन्दा बापत उठिसकेको छ भने ५ करोडसम्म उठ्ने अनुमान गरेका छौं,’ आर्थिक समितिका सदस्य दिपक खड्काले भने, ‘यसपटक हामीले सर्वसाधारणबाट एक रूपैयाँ पनि चन्दा लिएका छैनौं।’

चन्दा उठाउने तथा महाधिवेशनको खर्च व्यवस्थापन गर्ने जिम्मा आर्थिक समितिले लिएको छ। आर्थिक समिति स्रोतका अनुसार यसपटक नेपाली कांग्रेसलाई उमेश श्रेष्ठ, दिपक खडका, विनोद चौधरी, अनिल रुँगटा र इन्द्र बानियाँले २५÷२५ लाख रूपैयाँ चन्दा दिएका छन्। अहिलेसम्म दिइएको चन्दामध्ये यो रकम सबैभन्दा माथिल्लो रकम हो।

नेपाली कांग्रेसलाई २५ लाख रूपैयाँ चन्दा दिनेहरूमा श्रेष्ठ वर्तमान सरकारमा राज्यमन्त्री छन् भने चौधरी प्रतिनिधिसभा सांसद हुन्। यसैगरी, इन्द्र बाँनिया नेपाली कांग्रेस वाग्मती प्रदेशका सभपाति हुन्। समितिका एक सदस्यका अनुसार आर्थिक समितिका संयोजक ज्ञानेन्द्र कार्कीले यसपटक १५ लाख रूपैयाँ चन्दा दिएका छन्। आर्थिक समितिमा ११ जना सदस्य छन्। दिपकुमार उपाध्याय र विनोद चौधरी आर्थिक समितिका सल्लाहकार हुन्।

आर्थिक समितिले बैठक गरेरै आर्थिक समितिमा रहेका सबै सदस्यहरूले न्यूनतम ५ लाख रूपैयाँ चन्दा दिने निर्णण गरेको एक सदस्यले बताए। आर्थिक समितिमा जयराम पाण्डे, मोहन आचार्य, पाल्तेन गुरूङ, दिव्यमणि राजभण्डारी सदस्य छन्। पाण्डेले भने आफ्नो भागमा परेको ५ लाख रूपैयाँ चन्दा दिइसकेका छन्।

आर्थिक समितिका अर्का एक सदस्यका अनुसार केन्द्रीय समिति, मन्त्री तथा पार्टीबाट लाभको पद धारण गरेका व्यक्ति बाहेक केही थोरै व्यक्तिसँग चन्दा उठाइएको छ। ती सदस्यका अनुसार करिब ३० जना त्यस्ता व्यक्तिबाट चन्दा उठाइएको छ, जसमध्ये करिब २० जनाले दिइसेका छन्। करिब १५ जनाले चन्दा दिन बाँकी छ।

कांग्रेसले यसपटक पार्टीबाट प्रतिनिधित्व गरेका मन्त्री, सांसद, प्रदेश सरकारका मन्त्री, सांसद, सार्वजनिक पद धारण गरेका व्यक्ति तथा केही थोरै व्यवसायीबाट चन्दा उठाएको छ। आर्थिक समितिका अर्का एक सदस्य अनुसार केन्द्रीय समितिमा रहेका सबै सदस्यहरूले २५÷२५ हजार पार्टीलाई शुल्क बुझाउने व्यवस्था गरिएको छ।

यसैगरी, संघीय सरकारका मन्त्री, प्रतिनिधिसभा तथा प्रदेश सभाका सांसदहरूलाई १–१ महिनाको तलब पार्टीलाई चन्दा स्वरूप उपलब्ध गराउन कांग्रेसले सर्कुलर जारी गरेको छ। चन्दाका लागि राष्ट्रिय वाणिज्य बैंक तथा नेपाल इन्भेस्टमेन्ट बैंकमा खाता खोलिएको छ। चन्दादाताले सोझै बैंकमा रूपैयाँ जम्मा गर्ने व्यवस्था गरिएको छ।

व्यक्तिबाट मात्र ५ करोड रूपैयाँ नउठ्ने भएकोले आर्थिक समितिले प्रत्येक महाधिवेशन प्रतिनिधिबाट ३/३ हजार रूपैयाँको दरले दर्ता शुल्क उठाएको आजको नागरिक दैनिकमा खवर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *