कांग्रेस निर्वाचन : पदाधिकारीमा देउवाको बहुमत

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट पदाधिकारीमा मिश्रित नतिजा आए पनि सभापति शेरबहादुर देउवा बहुमतमा रहेका छन् । सभापतिसहित १४ पदाधिकारी रहने कांग्रेस केन्द्रीय समितिमा कोषाध्यक्षबाहेक सबै निर्वाचित हुनुपर्छ ।

एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्रीका लागि भएको निर्वाचनमा एक उपसभापति र छ जना सहमहामन्त्री देउवा समूहका निर्वाचित भएका छन् ।

१४औं महाधिवेशनमा प्यानलसहित चुनावमा गएका सभापति देउवाले कोषाध्यक्ष आफ्नै समूहको मनोनित गर्ने निश्चित भएसँगै पदाधिकारीमा सभापति देउवासहित ९ जना हुने देखिएको छ । कांग्रेस केन्द्रीय समितिमा सभापतिइतर पक्षका पाँच जनामात्र पदाधिकारीमा निर्वाचित भएका छन् ।

देउवाइतर समूहबाट पदाधिकारीमा निर्वाचित हुने नेताहरूमा उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीमा जीवन परियार र बद्री पाण्डे हुन् । परियारले दलित कोटाबाट र पाण्डेले पिछडिएको क्षेत्र कोटाबाट सहमहामन्त्री जितेका हुन् ।

महामन्त्री शर्मा प्रकाशमान सिंह प्यानलबाट महाधिवेशनमा चुनाव लडेका थिए भने अन्य डा शेखर कोइरालाको प्यानलबाट चुनाव लडेका थिए । कांग्रेसभित्र सभापतिपछि शक्तिशाली पदका रूपमा लिइने महामन्त्री दुवै फरक प्यानलबाट आएपछि देउवाको बहुमत भए पनि पदाधिकारीमा निर्णय गराउन देउवालाई सकस देखिएको छ । नेपाल समाचारपत्र दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *