चर्चित नेताहरूको फरक–फरक प्यानलबाट उम्मेदवारी

काठमाडौं। पार्टीभित्र प्रभावशाली एवं चर्चित नेताहरूले फरक–फरक प्यानल बनाई उम्मेदवारी दर्ता गरेपछि नेपाली कांग्रेस महाधिवेशन रोचक मोडमा पुगेको छ । प्रमुख सत्ताधारी दलसमेत रहेको यो पार्टीको शुक्रबारदेखि शुरु भएको १४औं महाधिवेशन राजधानीमा जारी छ ।

शनिबार उम्मेदवारी दर्ताको कार्यातालिकाअनुसार सभापतिमा शेरबहादुर देउवा, प्रकाशमान सिंह, डा। शेखर कोइराला, विमलेन्द्र निधि, कल्याण गुरुङ र युवराज न्यौपाने गरी ६ जनाको उम्मेदवारी परेको छ । पदाधिकारीका रूपमा रहने उपसभापति, महामन्त्री तथा सहमहामन्त्रीमा चर्चित नेताहरूले फरक–फरक प्यानलबाट उम्मेदवारी दर्ता गराएपछि कांग्रेस महाधिवेशन रोचक मोडमा पुगेको हो ।

प्रकाशमान सिंहको प्यानलबाट उपसभापतिमा सुजाता कोइराला र महामन्त्रीमा विश्वप्रकाश शर्माले उम्मेदवारी दिनुभएको छ भने डा शेखर कोइरालाको प्यानलबाट उपसभापतिमा धनराज गुरुङ र चन्द्र भण्डारीले उम्मेदवारी दिएका छन्। सोही प्यानलबाट महामन्त्रीमा गगन थापा र डा मीनेन्द्र रिजालले पनि उम्मेदवारी दिएका छन् । सभापति शेरबहादुर देउवाको प्यानलबाट उपसभापतिमा विजयकुमार गच्छदार र पूर्णबहादुर खड्का तथा महामन्त्रीमा डा प्रकाशशरण महत र प्रदीप पौडेलले उम्मेदवारी दिए ।

आफ्नो समूहमा एकमात्र साझा उम्मेदवार दिने प्रयास अन्तिम अवस्थासम्म पनि सफल हुन नसकेपछि नेता सिंहले सभापतिमा उम्मेदवारी दर्ता गर्दै भने– ‘कांग्रेसलाई बलियो बनाएर लैजान र आउँदो स्थानीय, प्रदेश र संघीय तीनै तहको निर्वाचन जिताउन मेरो उम्मेदवारी हो । नेतृत्वको कमजोरीका कारण अघिल्लो निर्वाचनमा १ सय ६५ सिटमध्ये कांग्रेस २३ सिटमा खुम्चनुपर्यो ।’ उनले देउवामाथि पार्टी पराजयको नैतिक जिम्मेवारी लिने आँटसमेत नगरेको आरोप लगाए।

उम्मेदवारी घोषणासम्बन्धी अवधारणसमेत जारी गर्दै सभापति आकांक्षीका नेता सिंहले भने– ‘आउँदो चैत महिनाभित्र हुने स्थानीय निर्वाचन र आगामी मंसिरभित्र हुने प्रदेश र संघीय निर्वाचनको तयारीलाई अघि बढाउँदै पार्टी संगठन परिचालनमा केन्द्रित हुन्छु ।’ जीवन्त पार्टीभित्र पदका लागि आन्तरिक प्रतिस्पर्धा हुनु सामान्य कुरा भएको बताउँदै सिंह प्यानलका महामन्त्री विश्वप्रकाश शर्माले महाधिवेशन प्रतिनिधिलाई सभापतिमा सिंहलाई विजयी गराउन आग्रह गरेका थिए ।

सभापतिमा प्यानल हित उम्मेदवारी दर्ता गर्दै अर्का नेता डा शेखर कोइरालाले युवाहरूको जोस र बूढाहरूको होसका साथ कांग्रेसलाई सशक्त ढंगले अघि बढाउने भन्दै महाधिवेशन प्रतिनिधिका रूपमा आएका ५१ प्रतिशत युवाको साथ आफूलाई भएको बताए । आगामी तीन तहको निर्वाचनमा कांग्रेसलाई विजयी गराउने प्रतिबद्धताका साथ डा कोइरालाले यो महाधिवेशनपछि कांग्रेसको सर्वमान्य र आधिकारिक टिम आफ्नै हुने दाबी पनि गरे ।

संस्थापनइतर पक्षबाट धेरै उम्मेदवार भएपछि पहिलो चरणमै जित हासिल गर्छु भनी हौसिएका शेरबहादुर देउवा गुटबाट विश्वप्रकाश शर्मा बाहिरिएपछि यो समूह सशंकित बनेको छ । पुनः नेतृत्व लिन उम्मेदवारी दर्ता गराएपछि देउवाले भने– ‘मैले जित्छु ।’ कांग्रेसलाई बलियो बनाउन आफूले फेरि उम्मेदवारी दिएको बताउँदै देउवाले आगामी तीन चरणको निर्वाचनमा कांग्रेसलाई जिताउने प्रतिबद्धता पनि व्यक्त गरे । देउवालाई समर्थन दिएका सिटौलाले देउवा प्यानलबाट आफ्नो समूहको नेता प्रदीप पौडेलले महामन्त्री र उमाकान्त चौधरीले सहमहामन्त्रीमा उम्मेदवारी दिएको जानकारी दिए।

सभापतिसहित १३ पदाधिकारी निर्वाचित गर्नुपर्नेमा ३९ जनाको उम्मेदवारी परेको छ ।नेपाल समाचारपत्र दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *