मल खरिदका लागि थप साढे तेह्र अर्ब माग

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रासायनिक मल खरिदका लागि अपुग साढे १३ अर्ब रुपैयाँ अर्थ मन्त्रालयसँग माग गरेको छ । सरकारले आव २०७८/७९ को बजेटमा नै रासायनिक मल खरिदका लागि १५ अर्ब रुपैयाँको व्यवस्था गरेको छ । त्यो रकमले चाहिनेजति मल खरिद गर्न नसकिने भएपछि कृषि मन्त्रालयले अर्थ मन्त्रालयसँग थप १३ अर्ब ४८ करोड रुपैयाँ माग गरेको छ ।

कृषि मन्त्रालयका प्रवक्ता डा कुमार सञ्जेलले अहिलेको अन्तर्राष्ट्रिय मूल्यअनुसार १५ अर्ब रुपैयाँले दुई लाख ५० हजार मेट्रिक टन मात्र खरिद गर्ने सकिने भएकाले थप मल खरिदका लागि रकम माग गरेको बताए।उनले भने, “तत्काल चाहिने मलमध्ये हामीलाई एक लाख ३१ हजार मेट्रिक टन अपुग भएको छ । त्यो मल खरिद गर्न हामीले १३ अर्ब ४८ करोड रुपैयाँ माग गरेका छौँ, त्यसमध्ये एक अर्ब रुपैयाँ दिइसकेको छ । ”

अहिले खरिद गरेको दुई लाख ५० हजार मेट्रिक टनमध्ये ३० हजार मेट्रिक टन मलका लागि रकम अपुग हुँदा अर्थ मन्त्रालयले एक अर्ब रुपैयाँ दिएको हो । बाँकी १२ अर्ब ४८ करोड रुपैयाँ पनि दिनका लागि अर्थ मन्त्रालय सकारात्मक रहेको कृषि मन्त्रालयले जनाएको छ । राजधानी दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *