भारतबाट ८० हजार मेट्रिक टन मल आउदै

काठमाडौं । सरकारले भारतबाट ८० हजार मेट्रिक टन रासायनिक मल ल्याउने तयारी गरेको छ। मल खरिदका लागि भारतसँग जिटुजी गरेको सरकारले असारसमान्तसम्म ८० हजार मेट्रिक टन मल ल्याउने प्रक्रिया अघि बढेको जनाएको छ।

५० हजार मेट्रिक टन युरिया र ३० हजार मेट्रिक टन डिएपी असार मसान्तसम्म प्राप्त हुने कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता प्रकाश कुमार सञ्जेलले बताए।

सरकारले आगामी ५ वर्षमा ५ लाख ६५ हजार मेट्रिन युरिया र तीन लाख ७० हजार मेट्रिक टन डिएपी खरिद गर्न जिटुजी गरेको प्रवक्ता सञ्जेलले बताए। मन्त्रालयका अनुसार साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले खरिद गर्ने मध्ये २० हजार मेट्रिक टन डिएपी र २२ हजार मेट्रिक टन युरिया जेठ अन्तिम हप्तासम्म प्राप्त हुने मन्त्रालयको दाबी छ।

त्यसैगरी, कृषि सामग्री कम्पनी लिमिटेडले खरिद गर्ने मध्ये ३० हजार मेट्रिक टन युरिया असारको दोस्रो हप्तादेखि प्राप्त हुने र २० हजार मेट्रिक टन डिएपी असारको तेस्रो साता प्राप्त हुने मन्त्रालयको दाबी छ। यो वर्ष अहिलेसम्म एक लाख मेट्रिक टन युरिया, ४४ हजार मेट्रिक टन डिएपी आपूर्ति भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *