नेपाली सेनालाई कार र सुडानमा थप जिम्मेवारी

काठमाडौं । नेपाली सेनाले सेन्ट्रल अफ्रिकन रिपब्लिक (कार) र सुडानस्थित संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा थप शान्ति सैनिक पठाउने भएको छ।

कारमा जाने गण र सुडान जाने गुल्मस्तरीय टोलीलाई पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा तयारी अवस्थामा राखिएको छ। करिब तीन महिनाभित्र सो टोली गइसक्ने छ।

मिसनमा टोली जानुपूर्वको तालिम निरीक्षणका लागि संयुक्त राष्ट्रसंघीय शान्ति स्थापक कार्यालय न्युयोर्कको ६ सदस्यीय टोली ६ मंसिरमा काठमाडौं आएर फर्केको छ। सैनिक प्रवक्ता सहायक रथी सन्तोषबल्लभ पौड्यालका अनुसार कारमा जान प्रमुख सेनानीको नेतृत्वमा चार सय ५० जनाको गणस्तरीय टोली मिसनमा जान तयारी अवस्थामा छ।

यसलाई लाइट इन्फेन्ट्री बटालियन भनिएको छ। राष्ट्रसंघीय टोली १० मंसिरमा फर्केर स्वीकृति दिएसँगै करिब तीन महिनाभित्र नेपाली सैनिकको थप टोली ती दुई देशमा परिचालित हुनेछ। सैनिक जनसम्पर्क निर्दैशनालयका अनुसार सुडानको आबेइस्थित राष्ट्रसंघीय मिसनमा ‘फोर्स हेडक्वार्टर सपोर्ट कम्पनी’ का रूपमा खटिन ७७ जना तयारी अवस्थामा छन्। ‘चाँडै नै नेपाली सेना जानेछ, करिब तीन महिनाभित्र थप जिम्मेवारी लिएर नेपाली सेना जानेछ’,सैनिक प्रवक्ता एवं सहायक रथी पौड्यालले भने।

थप सैनिक मागेसँगै राष्ट्रसंघले नेपाली सेनालाई विश्वास गरेको पनि सहायक रथी पौड्यालले बताए। छिट्टै समुदायसँग घुलमिल हुने र पूर्वसर्त नराखी राष्ट्रसंघले दिएको जिम्मेवारीमा खटिने भएकाले पनि नेपाली सेनालाई यो अवसर आएको जंगी अड्डाले जनाएको छ।

हाल नेपाल संयुक्त राष्ट्रसंघको १२ वटा शान्ति स्थापनार्थ मिसनमा सहभागी रहेको जंगी अड्डाले जनाएको छ। विश्वका विभिन्न द्वन्द्वग्रस्त देशहरूमा राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ तैनाथ करिब १२१ राष्ट्रमध्ये प्रथममा बंगलादेश ९६५५४ जना० रहेको छ भने दोस्रोमा नेपाल (५५७१ जना) छ।

तेस्रोमा भारत (५५२५ जना), चौथोमा इथियोपिया (५४८८ जना) र पाँचौ रुवान्डा (५३३१ जना) रहेका छन्। तर यो संख्या घटबढ भैरहने सैनिक जनसम्पर्क निर्दैशनालयले जनाएको छ। संयुक्त राष्ट्रसंघले नेपाली सेनालाई थप जिम्मेवारीका लागि पहिलो प्राथमिकतमा राख्दै आएको छ।

यसपटक पनि उसले नेपाली सेनासँग थप सैनिक मागेको थियो। सेनाले पहिले नै तालिम गरेर तयारी अवस्थामा राखेको टोलीलाई नै राष्ट्रसंघले मागेको स्थानमा खटाउने गरेको छ। दक्षिण अफ्रिकी मुलुक कार द्वन्द्वको हिसाबले निकै जोखिममा रहेको छ।

दुई वर्षअघि कारको चौथो ठूलो सहर बाम्बारीलाई कब्जा गर्ने विद्रोहीको प्रयासलाई नेपाली सेनाले असफल बनाइदिएपछि संयुक्त राष्ट्रसंघले नेपाली सेनाको प्रशंसा गरेको थियो। त्यसकै पुरस्कारस्वरूप अहिले त्यहाँ नेपाली सेनालाई थप जिम्मेवारी दिइएको हो। नागरिक दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *