होल्डिङ सेन्टर निर्माण अन्तिम चरणमा

काठमाडौं । कोभिड–१९ का सङ्क्रमितहरूको उपचार तथा भारतलगायत तेस्रो मुलुकबाट आएका नागरिकलाई राख्न निर्माण सुरु गरिएको ‘होल्डिङ सेन्टर’ तथा उपचार केन्द्रको काम अन्तिम चरणमा पुगेको छ । ‘होल्डिङ सेन्टर’ तथा उपचार केन्द्र यसै महिनाको अन्तिमदेखि सञ्चालनमा आउने नेपाली सेनाले जनाएको छ ।

नेपाली सेनाको व्यवस्थापनमा सो ‘होल्डिङ सेन्टर’को निर्माण भइरहेको छ । नेपाली सेनाका सहायक रथी तथा प्रवक्ता सन्तोषबल्लभ पौड्यालले मन्त्रिपरिषद्को निर्णयअनुसार नेपाली सेनाले नेपाल–भारत सीमाको विभिन्न आठवटा ठाउँमा निर्माण गरिरहेको ‘होल्डिङ सेन्टर’ तथा उपचार केन्द्रमध्ये सातवटाको काम समापनको चरणमा पुगेको बताउँदै यसै महिनाको अन्तिमदेखि सञ्चालनमा आउने जानकारी दिए।

उनले भने, ‘‘यसै महिनाको मसान्तदेखि सातवटै केन्द्रमा कम्तीमा एक श(या सञ्चालनमा ल्याइनेछ । ’’ मन्त्रिपरिषद्को निर्णयबमोजिम सो ‘होल्डिङ सेन्टर’को निर्माण नेपाली सेनाले गरिरहेका छन् । केन्द्रहरू निर्माणका लागि सेनालाई अर्थ मन्त्रालयबाट १९ करोड रुपियाँ निकासा भएको थियो । तर गत आर्थिक वर्षमा काम हुन नसक्दा सेनाले सो रकम फिर्ता गरेको थियो । सैनिक प्रवक्ता पौड्यालले स्पष्टका अनुसार अहिले करिब दुई अर्ब रुपियाँको लागतमा ती सेन्टरहरू निर्माण भइरहेका छन् ।

प्रवक्ता पौड्यालले भने, ‘‘नेपाल–भारत सीमा नाका कञ्चनपुरको गड्डाचौकी, कैलालीको गौरीफन्टा, झापाको काँकडभिट्टा, मोरङको रानी, कपिलवस्तुको कृष्णनगर, पर्साको वीरगञ्ज, बाँकेको नेपालगञ्ज र रुपन्देहीको बेलहियामा कम्तीमा एक हजार क्षमताको होल्डिङ सेन्टर बढाउने निर्णय गरेको थियो । ’’ रुपन्देहीको बेलहियामा भने अहिलेसम्म जग्गा प्राप्ति नभएको कारण काम अघि बढ्न नसकेको उनले बताए ।
उनका अनुसार, कोभिड–१९ का सङ्क्रमितहरूका लागि क्वारेन्टाइन, आइसोलेसन तथा उपचार गर्नेगरी यो बहुउद्देश्यीय भवनको निर्माण भइरहेको छ । गोरखापत्र दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *