कांग्रेस १४औं महाधिवेशनः २९ वटा मतपत्र, २ सय ९३ बुथ

काठमाडौं। नेपाली कांग्रेसको १४औं महाधिवेशन आगामी शुक्रबारबाट काठमाडौंमा सुरु हुँदै छ । ‘उत्साह, एकता, रूपान्तरणः सफल बनाऊँ नेपाली कांग्रेसको १४औं महाधिवेशन’ भन्ने मूल नारासहित कांग्रेसले काठमाडौंमा केन्द्रीय नेतृत्व चयनका लागि महाधिवेशन गर्न लागेको हो ।

पदाधिकारी र सदस्यसहित गरी १ सय ६७ सदस्यीय हुने कार्य समिति चयनका लागि २९ वटा मतपत्रको तयारी गरिएको छ । ती २९ वटै मतपत्र २९ स्थानबाट नै दिइने गरी निर्वाचन समितिले तयारी गरेको छ ।

कांग्रेस प्रवक्ता तथा प्रचारप्रसार विभाग प्रमुख विश्वप्रकाश शर्माले महाधिवेशनको अन्तिम तयारी भइरहेको जानकारी दिए । उनका अनुसार केन्द्रीय निर्वाचन समितिले पदाधिकारीबाहेकका सदस्यको निर्वाचनका लागि विद्युतीय भोेटिङ मेसिन प्रयोग गर्न सकिनेमा समेत पार्टी नेतृत्वसँग प्रस्ताव गरेको छ । तर, सोमा कुनै निर्णय भने भइसकेको छैन ।

‘कांग्रेस महाधिवेशनको अन्तिम तयारीमा छ, पदाधिकारीबाहेक सदस्यको निर्वाचनका हकमा डिजिटल भोटिङ मेसिनको प्रस्ताव पनि निर्वाचन समितिबाट आएको छ, सोमा पदाधिकारी बैठकले निर्णय गर्छ,’ प्रवक्ता शर्माले भने ।

तर, कागजी मतदान हुने अवस्थामा भने एक मतदाताले २९ वटा मतपत्रमा मतदान गर्नेगरी तयारी गरिएको छ । कांग्रेसले मतदानका लागि तीन स्थानसमेत तय गरेको छ ।

प्रवक्ता शर्माका अनुसार भृकुटीमण्डप, राष्ट्रिय सभागृह र नेपाल पुलिस क्लब गरी तीन स्थानमा मतदान गर्ने व्यवस्था मिलाइएको हो । यसैगरी, मतदानका लागि अहिलेसम्म २ सय ९३ वटा बुथ राख्ने तयारी भइरहेको छ । यस्तै, मतपत्रमा मत हालिसकेपछि सो मतपत्र खसाल्नका लागि १ हजारवटा बक्स राख्नेगरी तयारी गरिएको प्रवक्ता शर्माले जानकारी दिएका हुन् । राजधानी दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *