कांग्रेस संस्थापन इतरः अन्तिम समयसम्म सहमति गरी टक्कर दिन गृहकार्य

काठमाडौं। सत्तारूढ नेपाली कांग्रेसको महाधिवेशन नजिकिँदै गर्दा सभापतिमा संस्थापन इतरपक्षकै चार जनाबीच कुनै सहमति नहुने देखिएपछि हालका सभापति शेरबहादुर देउवालाई पुनः सभापतिमा जित हात पार्न सहज देखिएको छ । यद्यपि, संस्थापन इतरका नेताहरू अन्तिम समयसम्म पनि एकजुट हुँदै देउवालाई कडा टक्कर दिने गृहकार्यमा जुटेका छन् ।

कांग्रेसको १४औं महाधिवेशनमा सभापतिमा उठ्ने घोषणा गरेका नेता शेखर कोइराला भने पार्टीमा आमूल रूपान्तरणका लागि आफूले सभापतिमा उम्मेदवारी दिएकाले आफ्नो जित हुने दाबी गरेका छन् ।

हालसम्म कांग्रेसमा संस्थापन इतर पक्षका शेखरलगायत रामचन्द्र पौडेल, प्रकाशमान सिंह र शशांक कोइरालाले १४औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । तर, उनीहरू चार जनाबीच सहमति खोज्ने प्रयासलाई तीव्रता दिइएको नेता कोइरालाले जानकारी दिए ।

कोइरालाले नेपाली राजनीतिमा नैतिकता र इमानदारिताजस्ता विषय ओझेलमा पर्दै गएकाले आफूले सभापतिमा जितेमा राजनीतिलाई नैतिक र इमानमा चल्ने बनाउने स्पष्ट पारे । उनले अहिले देशभरका कार्यकर्ता र प्रतिनिधिहरूले आफूलाई सभापतिमा उठ्न सुझाव दिएकाले कार्यकर्ता र प्रतिनिधिको भावनाअनुसार नै सभापतिमा उम्मेदवारी दिने घोषणा गरेको जानकारी दिए ।

‘म कमजोर छैन, निर्वाचनमा मेरो जित सुनिश्चित छ त्यसैले अन्य तीन जनाले आफूलाई छोडिदिनुपर्नेमा उनको जोड छ । ‘रामचन्द्र, प्रकाशमान र शशांकले अब सभापतिका लागि मलाई छोडिदिनुपर्छ, त्यस्तो अवस्थामा मैले सभापतिमा सहजै जित हासिल गर्न सक्छु,’ नेता कोइरालाले भने । शेखरले अन्तिम अवस्थामा गएर आफूलाई छोडिदिने दाबी शशांकले गरेका छन् । राजधानी दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *