जनगणना टोली छाङरु र तिङ्करतर्फ

दार्चुला । दार्चुलाको व्यास गाउँपालिका–१ स्थित छाङरु र तिङ्करको जनगणनाका लागि जनगणना टोली शुक्रबार नेपाली बाटो हुँदै व्यासतर्फ खटिएको छ । टोली शनिबार व्यास गाउँपालिका–२ दुम्लिङमा बास बसेर अगाडि बढेको हो । टोली आइतबार बेलुका वा सोमबार बिहानसम्म कार्यस्थलमा पुुग्नेछ ।

छाङरु र तिङ्कर गाउँमा ११५, एउटा सशस्त्र प्रहरी र अर्को नेपाल प्रहरीको आवास गरी कुल ११६ घरपरिवार छन् । छाङरु र तिङ्करको जनगणना गर्न गणकलाई भारतले बाटो प्रयोग गर्न अनुमति नदिएपछि उनीहरू नेपाली भूमि हुँदै जोखिमपूर्ण बाटो प्रयोग गरेर त्यसतर्फ गएका जनगणना कार्यालय दार्चुलाका प्रमुख पदमराज पाण्डेले बताए ।

नेपाली भूमि हुँदै छाङरु र तिङ्कर गाउँसम्म पुग्न कम्तीमा तीन दिन लाग्छ । भारतीय भूमि हुँदै सडकमार्ग प्रयोग गरेर एकै दिनमा समेत पुग्न सकिने स्थानीयवासी बताउँछन् । सजिलो बाटो र छिटो पुगिने भन्दै नेपालले भारतसँग बाटो प्रयोग गर्न अनुमति मागेको थियो । तर, भारतीय प्रशासनले अनुमति नदिएपछि नेपाली टोली जोखिम मोलेरै नेपाली बाटो हुँदै त्यसतर्फ गएको हो । जनगणनाको पहिलो चरणमा घरपरिवार सूचीकरण गर्न भने नेपाली टोली भारतीय भूमि हुँदै छाङरु र तिङ्कर पुगेको थियो । गोरखापत्र दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *