काठमाडौं । एएफसी यु-२३ एसिया कप छनोट अन्तर्गत आज हुने खेलमा नेपाल र आयोजक ताजिकिस्तानसँग भिड्दै छन् । रिपब्लिक सेन्ट्रल रंगशालामा हुने खेल नेपाली समय अनुसार बेलुकी ७:४५ बजे शुरु हुनेछ ।
छनोटको पहिलो खेलमा इरानसँग ४-० गोलको हार बेहोरेको नेपाल आजको खेलमा सकारात्मक नतिजाको अपेक्षामा रहेको छ । पहिलो हाफमा बलियो इरानलाई गोलरहित बराबरीमा रोकेपनि दोस्रो हाफमा समालिन नसक्दा नेपालले ४ गोल बेहोरेको थियो । ताजिकिस्तानले भने पहिलो खेलमा लेबानोनलाई १-० गोलले हराएको थियो । त्यसैले ताजिकिस्तान आजपनि सोही लयलाई निरन्तरता दिन चाहन्छ भने नेपाल आयोजक राष्ट्रविरुद्ध अङ्क खोस्न चाहन्छ ।
हाल समूहमा ३ अङ्क जोडेको इरान शिर्ष स्थानमा रहेको छ भने समान अङ्क जोडेको ताज्किस्तान दोस्रो स्थानमा रहेको छ । पहिलो खेलबाट कुनै अङ्क जोड्न नसकेका लेबानोन र नेपाल क्रमशः तेस्रो र चौथो स्थानमा छन् ।
छनोटमा कुल ११ समूह रहेका छन् । हरेक समूहको शिर्ष स्थानमा रहने र दोस्रो स्थानमा रहने उत्कृष्ट चार टोलीले आगामी वर्ष उज्वेकिस्तानमा हुने यु(२३ एसिया कपमा आफ्नो स्थान सुरक्षीत गर्नेछन् ।