काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो महिना अर्थात् भदौ मसान्तसम्म आउँदा अर्थतन्त्रका विभिन्न सूचकहरू नकारात्मक नै देखिएका छन् । चालू आवको पहिलो महिना साउनदेखि अर्थतन्त्रको विभिन्न सूचक नाकरात्मक देखिन थालेको थियो, त्यसले भदौमा पनि निरन्तरता पाएको देखिन्छ ।
नेपाल राष्ट्र बैंकले सोमवार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति विषयक प्रतिवेदनअनुसार भदौमा पनि शोधनान्तर स्थिति, विदेशी मुद्रा सञ्चिति, चालू खाता, वैदेशिक व्यापार, विप्रेषण आप्रवाहलगायतका सूचकमा नकारात्मक सङ्केत देखिएका छन्, जुन सूचकहरू साउनमा पनि नकारात्मक देखिएका थिए ।
भदौसम्म आउँदा शोधनान्तर घाटा र चालू खाता घाटा थप बढेको छ भने विदेशी मुद्रा सञ्चिति घट्ने क्रमले निरन्तरता पाएको छ । विप्रेषण आप्रवाह घट्ने क्रमले पनि निरन्तरता पाएको देखिन्छ । साथै, वैदेशिक व्यापार घाटा पनि ह्वात्तै बढेको छ । फलतः अर्थतन्त्रमा अझै पनि सुधारको सङ्केत नदेखिएको प्रतिवेदनले पुष्टि गरेको छ ।
साउनमा ४७ अर्ब ९० करोड रहेको चालू खाता घाटा भदौमा बढेर १ खर्ब ६ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ । यस्तै, साउनमा ३८ अर्ब ७५ करोड रहेको शोधनान्तर घाटा अहिले बढेर ८३ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ । यसरी एक महिनाको अवधिमा नै चालू खाता र शोधनान्तर घाटा ह्वात्तै बढेको छ ।
यता विदेशी मुद्रा सञ्चितिमा पनि ह्रास आएको छ । गत साउनमा १३ खर्ब ५३ अर्ब ८२ करोड रहेको विदेशी मुद्रा सञ्चिति भदौ मसान्तसम्म आउँदा घटेर १३ खर्ब ६ अर्ब ९५ करोड रुपैयाँमा सीमित भएको छ । फलस्वरूप नेपालको वस्तु तथा आयात धान्न सक्ने क्षमता पनि घटेको राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाल बताउँछन् ।
विशेषगरी चाडपर्वलगायतका कारण भदौमा उच्च मात्रामा वस्तु तथा सेवा आयात भएको छ । आयात बढ्दा विदेशी मुद्रामा गरिने भुक्तानी पनि स्वतः रूपमा बढेको छ । तर, त्यस अवधिमा विप्रेषणलगायतका माध्यमबाट उक्त आयातलाई पुग्नेगरी विदेशी मुद्राको आर्जन हुन सकेन । आर्थिक अभियान दैनिकबाट
