एमाले १०औं महाधिवेशनः केपी र घनश्यामबीच प्रतिस्पर्धा

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उपमहासचिव घनश्याम भुसालले अगामी १०औं महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने संकेत गरेका छन् ।

विजया दशमी, दिपावली, छठलगायतका चाडपर्वका अवसरमा पत्रकारसँग आइतबार काठमाडौंमा भेटघाट गर्दै उपमहासचिव भुसालले पार्टीको १०औं महाधिवेशनमा अध्यक्षमा उम्मेवारी दिने संकेत गरेका हुन् ।

‘हाम्रो पार्टीको विधानमै स्पष्ट व्यवस्था छ । केन्द्रीय कमिटीको पदाधिकारी भइसकेको व्यक्ति अध्यक्षमा उम्मेदवारी दिन पाउँछ,’ उनले भने ।

हालै सम्पन्न एमालेको विधान महाधिवेशनले ७० वर्षे उमेर हदम्यादको व्याख्या गर्दै अध्यक्ष केपी शर्मा ओलीलाई पुनः अध्यक्ष हुन सहज हुनेगरी विधान संशोधन गरेको छ ।

एमालेभित्र ‘१० भाइ’ भनेर चिनिने नेतामध्येका एक उपमहासचिव भुसाल पनि हुन् । वैचारिक नेताका रूपमा समेत चिनिने उपमहासचिव भुसाल महाधिवेशनमा ओलीसँग प्रतिस्पर्धा गर्न आन्तरिक तयारीमा समेत जुटिसकेका छन् ।

एमालेको १०औं महाधिवेशन अगामी १०–१३ मंसिरमा बुटवलमा हुने निर्णय भइसकेको छ । हालै सम्पन्न प्रथम विधान महाधिवेशनले पार्टीको विधान संशोधनसहित पारित गर्दै महाधिवेशनको मितिसमेत टुंगो लगाइसकेको छ ।

राष्ट्रिय महाधिवेशनले एमालेको नयाँ नेतृत्व चयन गर्नेछ । विधान महाधिवेशनबाट एमालेका पदाधिकारीसहित कमिटीहरूको संख्या र आकार निर्धारण भइरहेको छ । सम्पन्न विधान महाधिवेशनले १५ सदस्यीय पदाधिकारी रहने निर्णय गरेको छ । पदाधिकारीमा १ अध्यक्ष, वरिष्ठ उपाध्यक्षसहित ५ उपाध्यक्ष, १ महासचिव, १ उपमहासचिव र सात सचिवसहित २ सय २५ सदस्यीय केन्द्रीय कमिटी हुने विधान पारित भएको छ ।

उता आइतबार आयोजित एक कार्यक्रमबीच महासचिव ईश्वर पोखरेलले अध्यक्ष ओली अध्यक्षमा उम्मेदवार भएको अवस्थाबाहेक आफू पनि अध्यक्षमा उम्मेदवारी दिने बताएका छन् । यसअघि नै अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका पोखरेलले ओली उम्मेदवार नभएको अवस्थामा आफू उम्मेदवार हुने बताइसकेका छन् ।

आगामी महाधिवेशनमा आफूले महासचिव पदमा पुनः उम्मेदवारी नदिने उनले बताए । तेस्रोपटक महासचिव नहुने बताउँदै उनले भने, ‘तेस्रो चोटि महासचिव हुन्न । विधानले पनि दिँदैन । मेरा व्यक्तिगत चाहनाले पनि दिँदैन ।’ राजधानी दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *