कम्प्युटरमा काम गर्दा ख्याल गरौँ

काठमाडौं, असोज २२ । कम्प्युटरमा बसेर काम गर्दा कतै तपाईंको बसाइ स्थिति एवं बस्ने आसन त मिलेको छ? यदि मिलेको छैन भने ढाड, गर्धन अथवा हात दुख्ने समस्या आउन सक्ने चिकित्सकको भनाइ छ ।

अनियमित दिनचर्या तथा ढाडको हेरचाहको कमीले यस्तो समस्याआउँछ । पछिल्लो समय धेरै नेपालीमा ढाड, हात, गर्धन दुख्ने समस्या बढ्दै गएको नेपाल आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रका फिजियोथेरापिस्ट डा विजयकुमार झाले जानकारी दिए। दैनिक यस्तो समस्या लिएर २५ देखि ३० जना बिरामी अस्पतालमा आउने उनको भनाई छ ।

उनले भने “कसैकसैलाई हिँड्न, डुल्न तथा उठ्न, बस्न समेत गाह्रो हुन्छ । कोहीलाई एउटै अवस्थामा लामो समय काम गर्दा पनि ढाड दुख्ने समस्या आउन सक्छ । लामो समयसम्म कार्यालयमा कम्प्युटर अगाडि बसेर गर्ने काम, लामो समय उभिएर गर्नुपर्ने कामहरू, गह्रुँगो सामान उचाल्नुपर्ने काम गर्दा यस्तो समस्या आउन सक्छ ।”

समस्या बढ्दै गएमा, औँलाहरूमा कमजोरी देखा पर्ने, हात–खुट्टा सुक्दै जाने र प्यारालाइसिस पनि हुनसक्छ । उनी समस्या गम्भीर भए मल–मूत्र बिसर्जनमै समस्या (क्वाडा इक्वाइना सिन्ड्रम) देखा परेमा तुरुन्त आपत्कालीन व्यवस्थापन गर्नुपर्ने उनको सुझाव छ ।

यस्ता रोगीमध्ये ९० प्रतिशतको उपचार प्राकृतिक तरिकाले गर्न सकिन्छ भने १० प्रतिशत रोगलाई शल्यक्रिया गर्नुपर्ने अवस्था आउने आजको गोरखापत्र दैनिकमा खवर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *