स्पेन नेसन्स लिगको फाइनलमा, इटालीको अपराजित यात्रामा पूर्णविराम

एजेन्सी । इटालीको ३८ खेलको अपराजित यात्रालाई पुर्णविराम लगाउँदै स्पेन युईएफए नेसन्स लिगको फाइनलमा प्रवेश गरेको छ । गएराति भएको पहिलो सेमिफाइनल खेलमा १० खेलाडीमा समेटिएको इटालीलाई २-१ गोलले पराजित गर्दै स्पेनले नेसन्स लिगको फाइनलमा आफ्नो स्थान सुरक्षीत गरेको हो ।
मिलानमा भएको खेलमा स्पेनलाई जित दिलाउन फेरान टोरेसले दुई गोल गर्दा इटालीबाट लोरेन्जो पेलेग्रिनीले एक गोल फर्काए । खेलको १७ औं मिनेटमा ओयार्जाबालको पासमा टोरेसले गोल गर्दै स्पेनलाई खेलमा अगाडि बढाएका थिए । ४२ औं मिनेटमा लोओनार्दो बोनुची दुई पहेंलो कार्डसहित रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि इटालीले बाँकी समय १० खेलाडीमा रहेर खेलेको थियो ।
पहिलो हाफको अतिरिक्त समयमा ओयार्जाबालकै पासमा टोरेसले व्यक्तिगत गोल गर्दै स्पेनको अग्रता दोब्बर बनाए । ८३ औं मिनेटमा चिएसाको पासमा पेलेग्रिनीले गोल गर्दै इटालीलाई २-१ गोलको अवस्थामा ल्याएका थिए । तर बाँकी समयमा थप गोल गर्न नसक्दा खेलमा स्पेन विजयी भयो । अब स्पेनले उपाधिको लागि बेल्जियम र फ्रान्स बिच हुने दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *