जनकपुर बम विस्फोटः उच्च अदालतले घटायो साहको कैद सजाय

जनकपुर । मिथिला राज्य माग गर्दै जनकपुरधामको रामानन्द चोकमा धर्ना बसेका कलाकर्मी लक्षित बम विस्फोट मुद्दामा जिल्ला अदालत धनुषाले सञ्जय साहलाई दोषी ठहर गरी जन्मकैदको फैसला सुनाएको थियो। तर उच्च अदालतले सो फैसला उल्ट्याइदिएको छ।

धनुषा अदालतले साहलाई ज्यान मार्ने उद्योगमा १२ वर्ष कैद सजाय र कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजाय तोकेको थियो।

उच्च अदालत जनकपुरका न्यायाधीशद्वय धीरबहादुर चन्द र रमेश ढकालको संयुक्त इजलासबाट कर्तव्य ज्यान मुद्दामा कसुरदार मानिएको भए पनि जन्मकैद सजाय नहुने फैसला गरिएको उच्च अदालत जनकपुरका रजिस्ट्रार खड्गराज अधिकारीले बताए।

उच्च अदालतका न्यायाधीशद्वय चन्द र ढकालको संयुक्त इजलासले उनको सजाय घटाएर सात वर्ष निर्धारण गरेको हो। कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजाय र ज्यान मार्ने उद्योगमा १२ वर्षको सजाय गर्दा चर्को हुने भन्दै सजाय कम गरेको जनाइएको छ।

रजिस्ट्रार अधिकारीका अनुसार सञ्जय साह बम काण्डमा प्रत्यक्ष संलग्न नभएको, बम विस्फोटन गराउने मुकेश चौधरीलाई निर्देशन दिएको भए पनि उनको प्रत्यक्ष संलग्नता नभएको तथा षड्यन्त्र गर्ने कार्यमा संलग्न भएको हुनाले कसुरदार ठहर गरिए पनि सुरु जिल्ला अदालतले गरेको सजाय चर्को भएको भन्दै उक्त फैसलालाई बदर गरेर सजाय घटाइएको हो।

‘घटनामा उसको प्रत्यक्ष संलग्नता नभएको, षड्यन्त्रकारीको भूमिका मात्र निर्वाह गरेको हुनाले कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजाय गर्दा न्यायोचित नदेखिने आदेश गरिएको छ,’ अधिकारीले भने।

ज्यान मार्ने उद्योगमा १२ वर्षको सजायलाई उच्च अदालतले घटाएर सात वर्ष गरे पनि कर्तव्य ज्यान मुद्दामा उक्त सजायमध्ये कुनै एक सजाय निर्धारण गर्न आगामी कात्तिक १५ गतेको समय निर्धारण गरिएको छ। ‘कात्तिक १५ गते हुने बहस, मिसिल, प्रमाण आदिबाट दुईमध्ये कुनै एक सजाय अदालतले निर्धारण गर्नेछ,’ उनले भने। नागरिक दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *