देउवाले कार्यवाहक सभापति सिटौलालाई दिनुहुन्छः प्रधान

काठमाडौं । नेपाली कांग्रेसका नेता भीमसेनदास प्रधानले पार्टीको आगामी महाधिवेशनमा सभापति जितेपछि शेरबहादुर देउवाले कृष्णप्रसाद सिटौलालाई कार्यवाहक सभापति दिने ठोकुवा गरेका छन् । त्यसका लागि स्थानीय तहमा देउवा र सिटौलाको समीकरण भइरहेको उनको दाबी छ ।

नेता प्रधानले भने, “देउवालाई गत महाधिवेशनमै हामीले पार्टी सभापतिमा समर्थन गरेका हौं । त्यसैले उहाँसँगको समीकरण प्राकृतिक हुन्छ । स्थानीय तहमा कहाँ कोसँग समीकरण गर्दा साथीहरुको सुरक्षा हुन्छ, त्यसरी नै गएका हौं । घोषित रुपमा समीकरण बनिसकेको छैन । तर देउवा र सिटौलाको समीकरणको सम्भावना प्रबल छ ।”

नेता प्रधानले थपे, “कांग्रेस पार्टीमा सिटौला भनेको डिसाइडिङ फ्याक्टर हो । उहाँमा त्यो क्षमता छ । हरेक द्वन्द्वको व्यवस्थापन गर्नुहुन्छ । सिटौलालाई रामचन्द्र पौडेल समूहमा गएर सभापति दिने स्थिति पनि छैन । तर सिटौला र देउवा मिल्दा महाधिवेशन जितिने सम्भावना बलियो छ । त्यतिबेला राजनीतिक लेनदेन हुन्छ । यो देउवाका लागि अन्तिम महाधिवेशन हो । बीपी कोइरालाले कृष्णप्रसाद भट्टराईलाई कार्यवाहक सभापति दिनुभएको थियो, गिरिजाप्रसाद कोइरालाले सुशील कोइरालालाई बनाउनुभयो । आगामी चुनावपछि देउवा प्रधानमन्त्री पनि हुने भएकाले सिटौला कार्यवाहक सभापति बन्ने सम्भावना हुन्छ ।”

काठमाडौंको कांग्रेस राजनीतिमा प्रकाशमान सिंहसँग दसौं महाधिवेशनदेखिको द्वन्द्व अहिलेसम्म कायमै रहेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *