परराष्ट्रमन्त्री खड्काले झुटो बोलेपछि द्वन्द्वपीडितहरू आक्रोशित

काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्काले संयुक्त राष्ट्रसंघको महासभामा नेपालको द्वन्द्वपीडितको समस्या समाधान उन्मुख रहेको झुटो कुरा बोलेको भन्दै द्वन्द्वपीडित आक्रोशित बनेका छन् । साथै पीडितहरूले परराष्ट्रमन्त्री खड्काले झुटो बोलेको भन्दै राष्ट्रसंघका महासचिवलाई पत्र पठाएर ध्यानाकर्षणसमेत गराएका छन् ।

नेपालको १० वर्षे द्वन्द्वका क्रममा सरकारपक्ष र तत्कालीन माओवादीपक्षबाट गम्भीर मानव अधिकार हननका घटनाका दोषीलाई कारबाही नभइरहेको बेला परराष्ट्रमन्त्री खड्काले संयुक्त राष्ट्रसंघ महासभामा उभिएर पीडितको मुद्दा सम्बोधन हुने क्रममा रहेको बताएका थिए ।

ललितपुरको पुल्चोकस्थित राष्ट्रसंघको कार्यालयमा पुगेर द्वन्द्वपीडितहरूले महासचिवलाई सम्बोधन गरिएको पत्र बुझाएका छन् । द्वन्द्वपीडित साझा चौतारीका पूर्वअध्यक्ष सुमन अधिकारीले आफूहरूले आफ्ना माग र चासोबारे राष्ट्रसंघका महासचिवको नाममा ध्यानाकर्षणपत्र पठाएको बताए ।

विस्तृत शान्ति सम्झौता भएको १५ वर्ष बितिसक्दा पनि राज्य र विद्रोहीपक्षबाट भएको जघन्य अपराधका दोषीविरुद्ध कारबाही प्रक्रिया अगाडि नबढ्दा द्वन्द्वपीडित नागरिकले न्याय पाउन सकिरहेका छैनन् । तर, परराष्ट्रमन्त्री खड्काले महासभा बैठकमा उभिएर समस्या समाधान हुन लागेको भाषण गरेपछि पीडितहरू आक्रोशित बनेका हुन् । राजधानी दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *