कपनमा ढलमा खसेर बालक बेपत्ता

काठमाडौं। संघीय राजधानी काठमाडौंकै ढल व्यवस्थापन व्यवस्थित नहुँदा ढलमा खसेर मानिसको मृत्यु हुने तथा बेपत्ता हुने घटना फेरि दोहोरिएको छ । काठमाडौंको कपनमा ढलमा खसेर फेरि एक बालक बेपत्ता भएका छन् ।

बूढानीलकण्ठ नगरपालिका–१० र काठमाडौं महानगरपालिका–६ को सिमानामा रहेको तरकारी बजार नजिकैको मिलन चोकमा ढलमा खसेर मंगलबार राति करिब ८ बजेको समयमा बालक बेपत्ता भएको प्रहरीले जनाएको छ । बेपत्ता बालक को हुन् भन्ने अझै खुल्न सकेको छैन ।

महानगरीय प्रहरी प्रभाग बौद्धले राति ८ः२१ बजेको समयमा अन्दाजी १०÷११ वर्षको बालक हराएको सूचना आएको र त्यसको आधारमा खोजी कार्य भइरहेको जनाएको छ । प्रहरीले दुई जना बालक हराएको सूचना आए पनि ढलमा बेपत्ता भएको बालक उनीहरू नै भए नभएको यकिन गर्न बाँकी रहेको जनाएको छ ।

स्थानीयले बालक ढलमा खसेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । बालकको खोजी गर्न सामाखुसीबाट प्रहरी निरीक्षकको कमाण्डमा १३ जनाको विपद् व्यवस्थापनको टोली खटिएको थियो । सो टोलीले त्यहाँ वरिपरिका सबै ढलहरूमा खोजी कार्य गर्दा पनि बेपत्ता बालक नभेटिएपछि फर्किएको प्रहरीले जनाएको छ ।

यसअघि काठमाडौंकोे नयाँ बस्तीमा ढलले बगाएर एक महिला बेपत्ता भएकी थिइन् । सोमबार बेलुका करिब साढे ७ बजेतिर ठूलो पानी परिरहेको अवस्थामा बाटो हिँडिरहेकी अन्दाजी ४० वर्षकी महिला चिप्लिएर ढलमा खसेर बेपत्ता भएकी हुन् ।

यस्तै, माकलबारीमा पनि ढलमा खसेकी एक महिलाको उद्धार गरिएको थियो । ठेकेदार कम्पनीले सडक तथा ढल मर्मत सम्भारका लागि जथाभावी रूपमा बिगारिदिने र लामो समयसम्म नबनाउँदा संघीय राजधानी काठमाडौं उपत्यकाभित्रै यस्ता घटना दोहोरिने गरेका छन् । राजधानी दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *