USAID

ओली र १० नेताबीच चर्काचर्की भएको होइनः बडाल


काठमाडौं। नेकपा एमालेका नेता केशव बडालले चालू स्थायी समिति बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओली र १० स्थायी समिति सदस्यहरूबीच आरोप, प्रत्यारोप, चर्काचर्की नभएको दाबी गरेका छन् । सबै नेताहरूले पार्टीलाई एकताबद्ध र सशक्त बनाउने सवालमा आफ्ना सुझाव राखेको उनले बताए ।

नेता बडालले भने, ‘हिजोका स्थायी समिति बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रतिवेदनमा १९ जना कमरेडले आफ्नो विचार राख्नुभयो । त्यहाँ पार्टीलाई एकताबद्ध र सशक्त बनाउने सवालमा कमरेडहरुले सुझाव दिएको कुरालाई १० जना नेताले प्रतिवेदनमाथि असहमति गरे भन्नु अनावश्यक हल्ला हो । पहिलो वक्ता मै थिएँ । मैले एक मिनेट पनि नछोडी बैठकमा बसेको थिएँ ।’

पार्टीका नेता घनश्याम भुसाल र भीम रावलले पनि असहमति नजनाएको र अध्यक्षसँग सवाल जवाफ नभएको पनि उनले बताए । उनले थपे, ‘घनश्याम भुसालले लिखित विचार राख्नुभएको हो । भीम रावलले पनि त्यसरी नै सुझाव राख्नुभएको हो । विगतमा भए गरेका काम कारबाहीबारे समीक्षा गर्ने सवालमा त्यस्ता विचार व्यक्त हुनु स्वाभाविक हो । पार्टीभित्र हरेक प्रतिवेदनमा छलफल हुन्छ, साझा दृष्टिकोण बनाउनका लागि सबै विचारलाई समेट्ने काम हुन्छ ।’

नेकपा एमालेलाई २०७५ जेठ २ मा जस्ताको तस्तै फर्काउने कुरा सम्भव नभएको पनि उनले बताए । उनले भने, ‘चार वर्षमा त बच्चा पनि स्कुल जाने भइसक्छ । माओवादी केन्द्रका नेताहरुलाई सामेल गराउने कुरामा हामीले फराकिलो छाती लिएर सोच्नैपर्छ । यस विषयमा आरोप, प्रत्यारोप, विवाद, चर्काचर्की गर्नु आवश्यक छैन ।’

नेता बडालले अध्यक्षको प्रतिवेदनमा कार्यदलमा रहेका रघुजी पन्तसहित पाँच नेताहरुका कारण सरकार ढलेको भन्ने अंश नरहेको पनि दाबी गरे ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *