नेपाल ६ विकेटले पराजित

काठमाडौं । ओमानमा विश्वकप क्रिकेट लिग २ अन्तर्गत नेपाल, अमेरिका र घरेलु टोलीबिच जारी त्रिकोणात्मक सिरिजमा नेपालले दोस्रो हार बेहोरेको छ । शनिबार बेलुकी भएको सिरिजको चौथो खेलमा नेपाल अमेरिकासँग ६ विकेटले पराजित भएको हो । जितको लागि १ सय ७५ रनको लक्ष्य पछ्याएको अमेरिकाले २९.३ ओभरमा ४ विकेट गुमाएर १ सय ७५ रन बनाउँदै सहजै लक्ष्य भेट्टायो ।

अमेरिकाको लागि ओपनर स्टेभेन टेलरले सर्वाधिक ९२ रन जोडे । उनले ६३ बलमा १२ चौका र ३ छक्का प्रहार गरे । मोनाक पटेलले ७० बलमा १ चौकासहित ३८ रन बनाउँदा जास्करन मल्होत्राले ३२ बलमा ३ छक्का र २ चौकाको मद्दतमा ३६ रन जोडे । नेपालको लागि करण केसीले ५ ओभरमा २३ रन खर्चेर २ विकेट लिए । स्पिनर सन्दीप लामिछानेले ८.३ ओभरमा १ मेडन राख्दै ३५ रन दिएर २ विकेट लिए । यसअघि अल अमेराट क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४८ ओभरमा अलआउट हुँदै १ सय ७४ रन जोडेको थियो ।

नेपालको लागि कप्तान ज्ञानेन्द्र मल्लाले अर्धसतक पूरा गरे । उनले १ सय ५ बलमा ३ चौकासहित ५५ रन बनाए । ओपनर कुशल भुर्तेलले ४३ बलमा ५ चौका र १ छक्कासहित ३६ रन बनाउँदा डेब्यु खेल खेलेका गुल्सान झाले ५३ बलमा २ चौका र १ छक्कासहित २८ रन जोडे । यस्तै करण केसीले १२, सन्दिप लामिछानेले ११ र विनोद भण्डारीले १० रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अङ्क छुन सकेनन् ।

नेपाललाई मध्यम स्कोरमा रोक्न ओमानका सौरभ नेत्रभाल्करले ९ ओभरमा २९ रन दिएर सर्वाधिक ४ विकेट लिए । क्यले फिलिपले ९ ओभरमा १ मेडन राख्दै ४३ रन दिएर ३ विकेट लिँदा करिमा गोरे, हुट्सिन्चन, नोस्थुश केन्जिगेले समान १/१ विकेट लिए । जितसँगै अमेरिका १५ खेलमा १४ अङ्क जोड्दै लिगको दोस्रो स्थानमा रहेको छ । पराजित नेपाल ७ खेलबाट ६ अङ्कसहित छैटौं स्थानमा यथावत छ । अब नेपालले सिरिजको आफ्नो अन्तिम खेलमा आइतबार घरेलु टोली ओमानको सामना गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *