चिनियाँ राजदूतलाई वेलायतको संसदमा प्रतिबन्ध

चीनले केही ब्रिटिश सांसदमाथि प्रतिबन्ध लगाएको अवस्थामा वेलायतले चिनियाँ राजदूतलाई उनी त्यहाँको संसद्मा आउन नपाउने बताएको छ । चीनसम्बन्धी सर्वदलीय समूहले आयोजना गर्न लागेको संसद्को एउटा जमघटमा झङ जगवाङ सहभागी हुन लागेका थिए ।

तर विरोध भएपछि तल्लो सदनका सभामुख लिन्ड्जी होयल र माथिल्लो सदन हाउस अफ लर्ड्सका सभामुख लर्ड मक्फलले झङको सहभागिता सम्भव नभएको बताए ।

चिनियाँ दूतावासले यो एउटा घृणित र कायर निर्णय रहेको र यसले दुवै देशको हितलाई हानि पुर्याउने जनाएको छ । प्रतिबन्धसम्बन्धी समाचार दुई देशका सरकारबीच तनाव चुलिएका बेला आएको हो ।

प्रतिबन्धबारे डेली टेलिग्राफले पहिलो पटक समाचार प्रकाशित गरेको थियो । गत मार्चमा चीनले तल्लो सभाका पाँच र माथिल्लो सभाका दुई सांसदमाथि यात्रासम्बन्धी प्रतिबन्ध लागु गरेको थियो र उनीहरूको सम्पत्ति रोक्का गर्ने निर्णय गरेको थियो ।

उनीहरूमाथि चीनबारे अफवाह फैलाएको आरोप लगाइएको छ । शिन्जियाङमा मानव अधिकारको उल्लङ्घन गरेको भन्दै चिनियाँ अधिकारीहरूमाथि वेलायतले पहिलो पटक लगाएको प्रतिबन्धको प्रत्युत्तरमा चीनले त्यस्तो कदम उठाएको थियो ।

तथापि चीनसम्बन्धी संसदीय समूहले जगवाङलाई आफ्नो समारोहमा निमन्त्रणा दिने निर्णय गरेको थियो । गत साता प्रतिबन्धमा परेका सत्तारूढ कन्जर्भेटिभ दलका पाँच सांसदले आफूहरूको चासो व्यक्त गर्दै सभामुखलाई पत्र लेखेका थिए । प्रतिबन्ध खेपेका अन्य दुई नेताले पनि सभामुखलाई पत्र लेखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *