स्क्रबटाइफसबाट ८ बालबालिकाको निधन

काभ्रे। स्क्रबटाइफसका कारण धुलिखेल अस्पतालमा डेड महिनामा ८ बालबालिकाको ज्यान गएको छ । अगस्ट ८ देखि सेप्टेम्बर १२ सम्म भर्ना भएका २२ बालबालिकामध्ये ८ जनाले ज्यान गुमाएका हुन् । निधन हुनेमध्ये ६ बालिका र २ बालक छन् । अधिकांश १४ वर्ष उमेर समूहभन्दा कमका छन् ।

‘स्क्रबटाइफसका कारण बालबालिका संक्रमण हुने र मर्ने क्रम अत्यधिक भएको छ’, धुलिखेल अस्पतालमा कार्यरत बाल रोग विशेषज्ञ डा सिर्जना डंगोलले भने– ‘संक्रमण भई अस्पतालमा आएकामध्ये ४० प्रतिशत बालबालिक मृत्युको मुखमा पुगेका छन् ।’

‘पछिल्लो ७ दिनमा २ बालबालिकाको निधन भएको छ’, डा सिर्जना डंगोलले भने– ‘समयमै अस्पताल नआउँदा बिरामी ल्याएको २४ घण्टा पुग्न नपाउँदै निधन भयो ।’ अस्पतालमा अहिले एक जना आईसीयूमा छन् भने २ जना सामान्य वार्डमा उपचारार्थ छन् ।

धुलिखेल अस्पतालमा विभिन्न स्थानबाट आएका बिरामीमध्ये डेड महिनाको अवधिमा ३४ जना संक्रमित भएका छन् । जसमा ९ पुरुष र २५ महिला छन् । १६ वर्षमुनिका ६ बालक र ६ बालिका रहेका छन् भने ३ पुरुष र १९ महिला १७ वर्ष उमेर समूहभन्दा माथिका छन् ।

अघिल्लो वर्षको तुलनामा यो वर्ष स्क्रबटाइफसका कारण निधन हुने संख्या बढेको डा। डंगोलले बताए । अघिल्लो वर्ष जुलाईमा ८ जना, अगस्टमा २१ जना, सेप्टेम्बरमा ८, अक्टोबरमा २, नोभेम्बरमा २ जना स्क्रबटाइफसबाट संक्रमति भएको भए पनि निधन हुनेको संख्या न्युन थियो ।

स्क्रबटाइफसका बिरामी बढेसँगै स्थानीय सरकार तथा स्वास्थ्य कार्यालयसँगको समन्वयमा सचेतना कार्यक्रम शुरु गरिएको डा डंगोलले बताए। जनावर तथा ओसिलो स्थानमा पाइने किर्नालाई मुुसाको माध्यमबाट व्यक्तिको शरीरमा फैलने भएकाले मुसाबाट बच्न र सरसफाइमा ध्यान दिनुपर्ने चिकित्सकहरुको सुझाव रहेको आजको नेपाल समाचारपत्र दैनिकमा मोतीराम तिमल्सिनाले खवर लेखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *