आयल निगमले पूर्वाधार निर्माणमा ६ अर्ब खर्चिने

काठमाडौं। नेपाल आयल निगमले पूर्वाधार निर्माणमा करिब ६ अर्ब रूपैयाँ खर्चिने भएको छ। निगमले चालु आर्थिक वर्ष ०७८/७९ को वार्षिक बजेटमा इन्धन भण्डारण, पाइपलाइन, डिपोको स्तरोन्नति लगायत पूर्वाधारलाई प्राथमिकतामा राखेको हो। आव ०७७/७८ मा सात अर्ब ६१ करोड रूपैयाँको बजेट बनाएको निगमले गत आवमा करिब एक अर्ब रूपैयाँ मात्र खर्च भएपछि यो वर्ष बजेटको आकार घटाएको छ।

निगम सञ्चालक समितिले चालु आवका लागि सात अर्ब ४० करोड रूपैयाँको बजेट पारित गरेको छ। त्यसमा पूर्वाधार निर्माणतर्फ पाँच अर्ब ८३ करोड रूपैयाँ रहेको छ। निगमले इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट इन्धन ल्याएर बिक्री गर्दै आएको छ। सरकारले निगमलाई तीन महिनालाई पुग्ने गरी इन्धन भण्डारणस्थल निर्माण गर्न यसअघि नै निर्देशन दिएको छ। भण्डारण क्षमता निकै कमजोर रहेकाले इन्धन भण्डारणस्थल निर्माण गर्न एक अर्ब ४५ करोड रूपैयाँ बजेट विनियोजन गरेको छ।

दुईवटा पाइपलाइन परियोजना निर्माण, भण्डारण क्षमता वृद्धि, डिपोको स्तरोन्नतिलाई प्राथमिकतामा राखिएको निगमका प्रबन्ध निर्देशक सुरेन्द्रकुमार पौडेलले बताए। पौडेलले भने, ‘पाइपलाइन र भण्डारणस्थल निर्माण अहिलेको आवश्यकता हो।’ इन्धन आयातमा सामान्य अवरोध हुनासाथ बजारमा अभाव हुने समस्या सुल्झाउन निगमले बजेटमा भण्डारण सहित पूर्वाधार निर्माणका परियोजनालाई प्राथमिकतामा राखेको हो।

भारतको सिलगुढीबाट झापासम्म पेट्रोलियम पाइपलाइन निर्माण र मोतिहारी–अमलेखगन्ज पाइपलाइनलाई चितवनको लोथरसम्म विस्तार गर्ने निगमको तयारी छ। त्यसका लागि करिब एक अर्ब रूपैयाँ बजेट विनियोजन गरेको छ। पेट्रोलियम पाइपलाइन विस्तार गर्न प्राविधिक समितिले प्रतिवेदन तयार गरेको छ। नागरिक दैनिकमा खवर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *