USAID

चार जनाले दिएको रायमा म पूर्ण सहमत हुन्छुः प्रधानन्यायाधीश जबरा


काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले संवैधानिक जिम्मेवारीले संवैधानिक परिषद्को बैठकमा सहभागी भएको बताएका छन् ।

संवैधानिक परिषदले गरेका नियुक्तिहरु बदर गर्न माग गर्दै परेका रिटमाथिको सुनुवाइका क्रममा शुक्रबार संवैधानिक इजलासमा जारी बहसमा अधिवक्ता ओमप्रकाश अर्यालले प्रधानन्यायाधीशमाथि प्रश्न उठाएपछि उनले आफू संवैधानिक जिम्मेवारीका कारण बैठकमा गएको बताएका हुन् ।

प्रधानन्यायाधीश संवैधानिक परिषदको पदेन सदस्य रहने भन्दै अर्यालले स्वार्थ बाझिने मुद्दाबाट प्रधानन्यायाधीश अलग रहनुपर्ने सुझाव दिए । जवाफमा प्रधानन्यायाधीश जबराले आफू इजलासमा नबस्दैमा वा बिदा लिएर बस्दैमा निकास नआउने दाबी गरे ।

उनले भने, ‘तपाईँ विश्वस्त हुनुस्, चार जनाले दिएको रायमा म पूर्ण सहमत हुन्छु।’ आफूलाई इजलासमा बसेर प्रतिरक्षा गर्नु नभएको जबराको भनाइ थियो। केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संवैधानिक परिषद् (काम, कर्तब्य अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन अध्यादेश–२०७८ जारी गरेकी थिइन् ।

सो अध्यादेशका आधारमा संवैधानिक परिषद्ले अख्तियार, लोकसेवा आयोग र निर्वाचन आयोग लगायतमा संवैधानिक नियुक्ति गरेको थियो । अध्यादेशविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता ओमप्रकाश अर्यालले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । लामो समयदेखि सो मुद्दामा सुनुवाई हुन सकेको थिएन ।

रिट निवेदकले अध्यादेश खारेजी तथा सो अध्यादेशका आधारमा गरिएका नियुक्ति बदर गर्न माग गरेका छन् । संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाले मुद्दाको सुनुवाइ गर्दैछन् ।

 


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *