बजेट परिवर्तन गर्न सचिवहरूलाई एक दिनको समय

काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षका लागि अध्यादेशमार्फत आएको बजेट परिमार्जन गर्न सबै मन्त्रालयलाई एक दिनको समय दिएका छन्। अर्थमन्त्री शर्माले अघिल्लो सरकारले ल्याएको अध्यादेश बजेटलाई परिमार्जन गर्न प्रतिस्थापन विधेयक ल्याउने तयारी गरेका छन्। यसका लागि बिहीबार अर्थले अरू सबै मन्त्रालयका सचिवसँग बैठक आयोजना गरेको थियो। बैठकमा अर्थमन्त्री शर्माले शुक्रबारसम्म परिवर्तित बजेट अर्थमा पेस गर्न निर्देशन दिएका हुन्।

चालु आवका लागि अघिल्लो सरकारले अध्यादेशमार्फत ल्याएको बजेट कार्यान्वयन नगर्न यसअघि नै अर्थले सबै मन्त्रालयलाई निर्देशन दिइसकेको थियो।चालु बजेटमा रहेका कुनै पनि आयोजनाको काम अगाडि नबढाउन भनिएको थियो। बिहीबारको बैठकमा मन्त्री शर्माले बजेट परिमार्जन गर्न एक दिनको मात्र समय दिएका हुन्। यसले सरकारले कसरी हचुवाको भरमा आयोजनाहरू राख्ने र हटाउने गर्छ भन्ने देखाउँछ।

बैठकमा अर्थमन्त्री शर्माले दिएको निर्देशन अनुसार बजेट परिमार्जन गर्ने हो भने एक दिन होइन महिना लाग्ने विकासे मन्त्रालयका एक सचिवले जानकारी दिए। ‘मन्त्रीज्यूले जे जे विषयमा परिमार्जन गर्नू भन्नुभएको छ त्यो अनुसार काम गर्ने हो भने कम्तीमा एक महिना लाग्छ,’ ती सचिवले भने, ‘एक दिनको समय भएकाले केही योजनाहरू हटाएर अरू जस्ताको तस्तै पेस गर्छौं।’

अर्थमन्त्री शर्माले विद्यमान अर्थतन्त्रलाई उत्पादनमुखी दिशातर्फ सोझ्याउने गरी कार्यक्रम परिमार्जन गरेर पठाउन सबै सचिवलाई निर्देशन दिएका थिए। उनले अध्यादेश बजेट परिमार्जन गर्दा संघीयताको व्यवहारिक कार्यान्वयनलाई बल पुग्ने, वित्तीय अनुशासन कायम गर्ने तथा पुँजीगत खर्च बढाउने र पुँजी निर्माण गर्ने खालका कार्यक्रममा जोड दिनुपर्ने भनेका थिए। यस्तै, गरिबी घटाउने र रोजगारी बढाउने, सहज स्वास्थ्य सेवाको उपलब्धता, शिक्षा, कृषि र पर्यटनलगायतलाई प्राथमिकतामा राखेर परिमार्जन प्रस्ताव पठाउन भनिएको छ। नागरिक दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *