शिक्षण संस्था खोल्न क्षेत्र वर्गीकरण गर्ने तयारी

काठमाडौं । कोरोना महामारीका कारण लगाइएको लकडाउनले बन्द रहेको शिक्षण संस्था खोल्न सरकारले क्षेत्र वर्गीकरण गर्ने तयारी गरेको छ । कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को निर्देशनपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले क्षेत्र वर्गीकरण कार्ययोजना तयार गर्न शुरू गरेको छ ।

गएको माघदेखि बन्द शिक्षण संस्थाको क्षेत्र वर्गीकरणको आधारमा खोल्ने र बन्द गर्ने निर्णय गर्ने अधिकार स्थानीय तहलाई दिने गरी कार्ययोजना तयार भइरहेको छ ।

मन्त्रालयका प्रवक्ता दीपक शर्माले यो विषयमा सामान्य छलफल भइरहेको जिकिर गर्दै सबै अधिकार स्थानीय तहलाई गइसकेको अवस्थामा मन्त्रालयले सामान्य कार्ययोजना तयारी गरिरहेको बताउनुभयो । तर, मन्त्रालयले आफ्नो मातहतका निकायसँग छलफल शुरु गरेको छ । मन्त्रालयले तयार गरेको कार्ययोजना सीसीएमसीमा पठाउने र त्यहाँबाट पारित भएर सरकारले स्वीकृत गरेपछि लागू गर्ने तयारी गरेको छ ।

सरकारले स्मार्ट लकडाउनको अवधारणा शुरु गर्ने तयारी गरेसँगै शिक्षा मन्त्रालयले कार्ययोजना तयार गर्न लागेको हो । मन्त्रालयका अधिकारीका अनुसार शिक्षण संस्थालाई रेड, एल्लो र ग्रिन जोनमा वर्गीकरण गर्ने तयारी भइरहेको छ ।

जिल्लाको अवस्था हेरेर विद्यालयलाई तत्काल सञ्चालन गर्न मिल्ने गरी ग्रिन, एक तिहाइ मात्र खोल्न सक्ने गरी एल्लो र पूर्णरूपमा बन्द गर्ने अर्थात् पूर्ण लकडाउन गर्ने गरी रेड जोनको अवधारणा अघि बढाएको छ ।

मन्त्रालयले हिजो बुधबारबाट अवधारणापत्र तयार गरिरहेको छ । कोभिड संक्रमण कम भएका जिल्लाका स्थानीय तहले धमाधम विद्यालय खोल्न थालेका छन् । केही स्थानीय तहले विद्यालय खोलेको केही दिनमै बन्द गरेका थिए । यसरी कतै बन्द गर्ने त कतै खोल्ने होड चलेपछि मन्त्रालयले कार्ययोजना नै बनाएर क्षेत्र तोकेर विद्यालय खोल्ने र बन्द गर्ने गरी व्यवस्था गर्न लागेको हो ।

अनलाइन कक्षा प्रभावकारी हुन नसकेको भन्दै केही स्थानीय तहले स्वास्थ्य मापदण्ड पालना गरी विद्यालय खोल्न थालेका थिए । मनपरी रूपमा विद्यालय खोल्न थालेपछि सीसीएमसीले क्षेत्र वर्गीकरण गरी विद्यालय खोल्न मिल्ने वा नमिल्ने विषयमा कार्ययोजना तयार गर्न मन्त्रालयलाई पत्र पठाएको हो । नेपाल समाचारपत्र दैनिकमा खवर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *